अमेरिका।
अमेरिका–इजरायलद्वारा इरानविरुद्ध सुरु गरिएको युद्ध पाँचौं दिनमा प्रवेश गर्दा इजरायलभर हवाई आक्रमणका साइरन बजिरहेका छन्। इरानबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू अवरोध गर्ने प्रयास भइरहँदा विभिन्न स्थानमा ठूलो विष्फोटका आवाज सुनिएका छन्।
इजरायली सेनाले बुधबार बिहान इरानबाट क्षेप्यास्त्र प्रहार भएको चेतावनी दिँदै नागरिकलाई आश्रयस्थलमा जान निर्देशन दिएको थियो। रक्षा प्रणाली सक्रिय पारिएको सेनाको भनाइ छ। आदेश यरुशलम, तेल अवीवलगायत देशका विभिन्न क्षेत्रमा लागू गरिएको थियो। इजरायलको आपतकालीन स्वास्थ्य सेवा मगेन डेविड अडोमले हालसम्म कुनै हताहतीको सूचना नआएको जनाएको छ।
रामल्लाहबाट अल जजिराकी संवाददाता निदा इब्राहिमले ठूलो विष्फोटको आवाज सुनिएको बताएकी छन्। उनका अनुसार व्यापक प्रहारका कारण इजरायलको हवाई प्रतिरक्षा प्रणाली दबाबमा परेको देखिन्छ। सञ्चारमाध्यमका अनुसार अवरोधका क्रममा खसेका टुक्रा बेइत शेमेश क्षेत्रमा खसेका छन्। यरुशलमको पश्चिममा रहेको उक्त क्षेत्रमा दुई दिनअघि यस्तै घटनामा नौ जना इजरायली मारिएका थिए।
तेहरानले इजरायल तथा खाडी क्षेत्रभर क्षेप्यास्त्र र ड्रोनमार्फत प्रतिकार जारी राखेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व एक महिनासम्म चल्न सक्ने बताएका छन्। साउदी अरेबियाको रक्षा मन्त्रालयले अल–खार्ज गभर्नरेटमाथि प्रहार गरिएका दुई क्रुज क्षेप्यास्त्र अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका केही शत्रुतापूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेको छ।
इरानमाथि आक्रमण तीव्र
बुधबार तेहरानमा ठूलो विष्फोटको आवाज सुनिएको छ। इजरायली सेनाले राजधानीका विभिन्न स्थानमा आक्रमण गरी लक्ष्यहरू प्रहार गरेको जनाएको छ। इजरायलका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) अन्तर्गतको स्वयंसेवी बल बसीजसँग सम्बन्धित भवनहरू निशाना बनाइएका छन्। साथै आन्तरिक सुरक्षा कमान्डसँग सम्बन्धित संरचनाहरूमा पनि प्रहार गरिएको दाबी गरिएको छ।
इरानी रेड क्रेसन्ट सोसाइटीका अनुसार संयुक्त अमेरिका–इजरायल आक्रमणमा इरानभर कम्तीमा ७८७ जनाको मृत्यु भएको छ। तेहरानबाट अल जजिराका तोहिद असादीले करज र इस्फहानसहित विभिन्न शहरहरूमा पनि विष्फोट भएको जानकारी दिएका छन्।
आईआरजीसीले स्थल सेना युद्ध कारबाहीमा प्रवेश गरेको र २३० ड्रोन परिचालन गरिएको दाबी गरेको छ। अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गर्दै समुद्री कारबाहीसमेत गरिएको बताइएको छ। तेहरानमा तनाव झन् बढ्दो अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।