काठमाडौँ।
आसन्न निर्वाचनका सन्दर्भमा अभिनेता दिपकराज गिरीले मतदातालाई सचेत र जिम्मेवार भएर आफ्नो स्वविवेक प्रयोग गर्न आग्रह गरेका छन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि उठेका परिवर्तनका मागलाई सम्बोधन गर्न सक्ने उम्मेदवार छनोट गर्नुपर्ने उनको जोड छ।
गिरीका अनुसार निर्वाचनका बेला मतदाताले भावनामा होइन, विगतको मूल्याङ्कनका आधारमा निर्णय गर्नुपर्छ। “हिजो हामीले भोट दिएका नेताको डेलिभरी कस्तो थियो, त्यसको समीक्षा गर्नुपर्छ। नयाँ उम्मेदवारको क्षमताको पनि सूक्ष्म अध्ययन आवश्यक छ,” उनले भने।
उनले बहुदलीय प्रणालीमा उम्मेदवार मात्र होइन, सम्बन्धित दलको घोषणापत्र र एजेन्डा पनि अध्ययन गर्नुपर्ने बताए। जनताको भावनासँग मेल खाने एजेन्डा उठाउने दल वा उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
जेनजी आन्दोलनलाई लिएर विभिन्न दलका फरक–फरक धारणा सार्वजनिक भइरहेका सन्दर्भमा गिरीले मतदाताले आफ्नै विवेक प्रयोग गर्नुपर्ने बताए। “कुन पक्षले के भन्यो भन्नेभन्दा पनि अब कसले माग सम्बोधन गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्छ,” उनले उल्लेख गरे।
मतदातालाई प्रभलोभनमा पार्ने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गर्दै मासुभात, पैसा वा अन्य लोभमा परेर मत नबेच्न आग्रह गरे। “एउटा क्वार्टर रक्सी वा सानो लोभका कारण पाँच वर्षसम्म दुःख पाउने अवस्था नआओस्,” उनले चेतावनी दिए।
उनले व्यवस्था परिवर्तन भए पनि सिस्टम परिवर्तन नभएको गुनासो व्यापक रहेको उल्लेख गर्दै अबको भोट सिस्टम सुधारतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। “हाम्रो उमेर ढल्किए पनि हाम्रा सन्तति यही देशमा बस्नुपर्छ भन्ने सोचेर निर्णय गर्नुपर्छ,” उनले भने।