काठमाडौं । उत्तर कोरियाले शनिबार पूर्वी समुद्री क्षेत्रतर्फ करिब १० वटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ। यसलाई दक्षिण कोरियाले एसियामा बढ्दो तनावबीचको ठूलो सैन्य शक्ति प्रदर्शनका रूपमा व्याख्या गरेको छ।
दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू राजधानी प्योङयाङ नजिकको सुनान क्षेत्रबाट प्रहार गरिएका थिए। ती मिसाइल करिब ३४० देखि ३५० किलोमिटर उडेपछि समुद्रमा खसेका थिए।
अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि क्षेत्रीय सुरक्षा अवस्थाबारे चिन्ता बढेको छ। वासिङ्टन र सोलले उक्त अभ्यासलाई रक्षात्मक बताएका छन् भने प्योङयाङले यसलाई आक्रमणको तयारीका रूपमा लिने गरेको छ।
दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले मिसाइल प्रक्षेपणपछि क्षेत्रमा निगरानी र सतर्कता बढाइएको जनाएको छ। जापानले पनि मिसाइलहरू आफ्नो विशेष आर्थिक क्षेत्र बाहिर खसेको र कुनै क्षति नभएको पुष्टि गरेको छ।
यस घटनाले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको बताइएको छ। लगातारको मिसाइल परीक्षणका कारण उत्तर कोरिया संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धमा रहे पनि उसले आफ्नो हतियार कार्यक्रम जारी राखेको छ।
उता, इरानसँगको युद्धको पृष्ठभूमिमा अमेरिकाले दक्षिण कोरियाबाट केही मिसाइल रक्षा सामग्री अन्य क्षेत्रमा सारिरहेको अनुमान गरिएको छ। अमेरिकी सेनाले सियोङ्जुस्थित टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (THAAD) प्रणालीका ‘इन्टरसेप्टर’ मिसाइलहरू पश्चिम एसियातर्फ सार्न थालेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको कार्यालयले भने अमेरिकी सैन्य सामग्री स्थानान्तरणबारे आधिकारिक पुष्टि गर्न नसकिने जनाएको छ। साथै, यसले उत्तर कोरियाविरुद्धको रक्षा स्थितिमा असर नपर्ने दाबी पनि गरिएको छ।