काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा विगत ६ महिनादेखि सम्पर्कविहीन बनेका छन्। गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि उनी प्रदेशसभा सचिवालयसँग पनि सम्पर्कमा छैनन्।
देउवानिकट कांग्रेस कैलालीका नेताहरूका अनुसार आन्दोलनको चार दिनपछि उनी अमेरिका गएका थिए। उनले राष्ट्रियसभा सदस्य निर्वाचनअघि नै नेपाल फर्किने बताएका थिए, तर अझै फर्किएका छैनन्। अहिले भने एक साताभित्र नेपाल आउने बताएका छन्।
देउवा करिब सात महिनादेखि प्रदेशसभा बैठकमा पनि अनुपस्थित छन्। सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० अनुसार लगातार १० बैठकमा बिनासूचना अनुपस्थित भए पद नै रिक्त हुन सक्ने व्यवस्था छ। तर पछिल्लो सात महिनामा सातवटा मात्र बैठक बसेकाले उनको पद भने यथावत् रहेको छ।
लामो समय सम्पर्कविहीन रहेपछि प्रदेशसभा सचिवालयले उनको तलब सुविधा भने रोक्का गरेको छ। सचिवालयका एक कर्मचारीका अनुसार देउवा अमेरिकामा रहेको जानकारी सुने पनि उनले सभामुखलाई औपचारिक जानकारी दिएका छैनन्। त्यसैले तलब भुक्तानीमा प्रश्न उठ्न सक्ने भन्दै रोकिएको हो।
देउवा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन्। २०७९ सालको प्रदेशसभा निर्वाचनपछि उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आकांक्षामा थिए। तर कमलबहादुर शाह मुख्यमन्त्री बनेपछि देउवा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।
केन्द्रमा एमाले–कांग्रेस गठबन्धन सरकार बनेपछि देउवा मुख्यमन्त्री बन्ने चर्चा चलेको थियो। तर संघीय सरकारमा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि दल नेतामा परिवर्तन हुन नसकेको चर्चा थियो।
मुख्यमन्त्री शाहको पहिलो कार्यकालमा देउवा नजिक मानिन्थे। तर दोस्रो कार्यकालमा भने उनीहरूबीच सम्बन्ध चिसिँदै गएको बताइन्छ। देउवाले मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए भने शाहले आफ्नैबाट असहयोग भइरहेको सार्वजनिक रूपमा टिप्पणी गर्दै आएका थिए। साथै, देउवाको आफ्नै काकाकाकीसँग पनि सम्बन्ध बिग्रिएको चर्चा सुदूरपश्चिममा छ।