भोजपुर, ६ चैत।
ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएएको छ । केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक शिक्षण सामग्री प्रयोग गर्न नसकेका विद्यालय अहिले कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेटको प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्न थालेका छन् ।
जिल्लाका दुर्गम बस्तीमा विद्युत् सेवा पुगेपछि विद्यालयले डिजिटल माध्यमबाट पठनपाठन गराउन थालेका हुन् । यसले शिक्षकलाई विषयवस्तु स्पष्ट ढङ्गले प्रस्तुत गर्न र विद्यार्थीलाई पनि बुझ्न सजिलो हुने यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो । ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुगेको उहाँको भनाइ छ ।
इन्टरनेट सुविधा पुगेपछि सिकाइलाई अझ सहज बनाएको उहाँले जानकारी दिनुभयो । “ग्रामीण क्षेत्रमा विद्युत् सेवा विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहज भएको छ”, उहाँले भन्नुभयो, “विद्युतीय सामग्रीको प्रयोग गरेर शिक्षण–सिकाइलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन सकिएको छ ।” विद्युत् विस्तारसँगै धेरै विद्यालयमा कम्प्युटर प्रयोग बढेको छ भने केही विद्यालयले प्रोजेक्टरमार्फत भिडियो तथा प्रस्तुतिका माध्यमबाट कक्षा सञ्चालन गर्न थालेका छन् ।
प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइप्रति रुचि बढेको शिक्षकहरूको अनुभव छ । ग्रामीण क्षेत्रका विद्यालयमा पहिलेदेखि नै पाठ्यपुस्तकमा आधारित परम्परागत शिक्षण पद्धति बढी प्रयोग हुने गरेको थियो । तर अहिले विद्युत् सुविधा पुगेपछि डिजिटल सामग्री, शैक्षिक भिडियो, प्रस्तुतिकरण तथा अनलाइन स्रोतहरूको प्रयोग बढ्दै गएको छ । यसले शिक्षणलाई प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउन सहयोग पुगेको सरोकारवालाको भनाइ छ ।
विद्यार्थीले पनि प्रविधिको प्रयोगबाट पढाइलाई थप रोचक र बुझ्न सजिलो भएको बताएका छन् । पहिले पुस्तकमा मात्र सीमित जानकारी अहिले भिडियो, तस्बिर तथा प्रस्तुतिकरणमार्फत बुझ्न पाउँदा सिकाइ प्रक्रिया प्रभावकारी बनेको उनीहरूको भनाइ छ । यद्यपि जिल्लाका सबै विद्यालयमा अझै समान रूपमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू हुनसकेको छैन ।
केही दुर्गम क्षेत्रका विद्यालयमा इन्टरनेट पहुँच र आवश्यक उपकरणको अभाव अझै चुनौतीका रूपमा रहेको शिक्षा क्षेत्रका सरोकारवाला बताउँछन् । स्थानीय तह तथा सरोकारवाला निकायले विद्यालयमा आवश्यक उपकरण उपलब्ध गराउने र शिक्षकलाई प्रविधि प्रयोगसम्बन्धी तालिम प्रदान गर्ने कामलाई प्राथमिकता दिएका छन् । विद्युत् विस्तारसँगै प्रविधिको पहुँच बढ्दै जाँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक शिक्षण प्रणालीमार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर विस्तार हुँदै गएको देखिन्छ ।