काठमाडौँ, १३ चैत।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । आज दिउँसो १२ बजेर ३४ मिनेटमा राष्ट्रपति भवनमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
यसैबीच रास्वपाले सरकार गठनसँगै मन्त्रालय बाँडफाँट समेत सार्वजनिक गरेको छ । जसअनुसार सुधन गुरुङ लाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ । गुरुङ गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उपसभापति स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित उनलाई अर्थमन्त्री बनाइएको हो ।
त्यस्तै शिशिर खनाल लाई परराष्ट्र मन्त्रालय, पार्टी सहप्रवक्ता प्रतिभा रावल लाई सामान्य प्रशासन मन्त्रालय र सोविता गौतम लाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी अमरेश कुमार सिंह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् भने विराज भक्त श्रेष्ठ लाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री शाहनिकट मानिने सुनिल लम्साल लाई भौतिक पूर्वाधार मन्त्रालय दिइएको छ । यस्तै सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छन् भने कास्कीका गनेस पौडेल पर्यटन मन्त्री बन्ने भएका छन् ।
नयाँ सरकार गठनसँगै अब मुलुकको राजनीतिक दिशा र नीतिगत प्राथमिकता कस्तो हुने भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ ।