काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आउनुभएको छ ।
सामान्य पारिवारिक परिवेशमा हुर्किनुभएकी उहाँका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई हुनुहुन्छ । शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गर्नुभएको थियो । त्यसपछि उहाँले कानुन विषयमा स्नातक पूरा गर्नुभएको छ भने हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत हुनुहुन्छ ।
राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहनुभएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आउनुभएको थियो । कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उहाँसँग रहेको छ ।
त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उहाँमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उहाँले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गर्नुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उहाँले देखाउनुभएको छ ।
उहाँले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिनुभएको छ । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उहाँको सक्रियता उल्लेखनीय छ । युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्नुहुने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिनुहुन्छ ।
निर्वाचनका क्रममा उहाँले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सार्नुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ सञ्चार क्षेत्रमा पनि परिचित हुनुहुन्थ्यो । विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उहाँले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उहाँले समाजमा सकारात्मक प्रभाव पार्नुभएको थियो ।
सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित हुनुभएको छ । रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्नुहुन्छ ।
नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उहाँलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उहाँ संसद्मा सक्रिय रहनुभएको छ । –––