१५ चैत, काठमाडौं ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार मात्र अदालत उपस्थित गराइएको हो ।
यसैबीच, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत उपस्थित गराउने तयारी गरिएको छ ।
गत भदौ २३–२४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । सो प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, विभिन्न व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएका थिए ।
उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार चैत १४ गते बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकोमा चिकित्सकको सल्लाहअनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ ।