काठ्माडाैं नेकपा (एमाले) की जेन–जेड समर्थक अमिषा पराजुलीले सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको आरोपमा केही व्यक्तिहरूविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरी साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी छिन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि आफू अमानवीय दुर्व्यवहार तथा बलात्कारको धम्कीको शिकार भएको बताउँदै उनले कानुनी कारबाहीको माग गरेकी हुन्।
पराजुलीका अनुसार, उनको भिडियोको दुरुपयोग गर्ने, टिप्पणीमार्फत मौखिक दुर्व्यवहार गर्ने तथा बलात्कारको धम्की दिने सबै व्यक्तिहरूविरुद्ध सामूहिक रूपमा उजुरी दर्ता गरिएको छ। उनले यस्ता धम्कीहरू सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत प्राप्त भइरहेको जानकारी दिइन्।
उनले आफूले केही गलत नगरे पनि अनावश्यक रूपमा नकारात्मक प्रतिक्रियाको निशाना बनाइएको गुनासो गरिन्। “हामीले मेरो बयानको भिडियोको दुरुपयोग गर्ने, टिप्पणी खण्डमा मौखिक दुर्व्यवहार गर्ने र बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छौं,” उनले भनिन्।
उनका अनुसार, यस कठिन समयमा उनको परिवारले पूर्ण साथ दिएको छ। परिवारका सदस्यहरूलाई आफू निर्दोष रहेको थाहा भएकाले उनीहरूबाट पूर्ण समर्थन पाएको उनले बताइन्।
अमिषाले केपी शर्मा ओली को गिरफ्तारीलाई असंवैधानिक भन्दै आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्। त्यसयता उनी लगातार साइबर बुलिङ र अमानवीय व्यवहारको शिकार हुँदै आएकी छन्।
टिकाराम यात्रीसँगको अन्तर्वार्तामा उनले आफू मानसिक तनावमा रहेको र पशुलाई समेत गर्न नहुने खालको व्यवहार सहनुपरेको बताएकी छिन्। साथै, आफ्नै साथीहरूबाट समेत अपेक्षित साथ नपाएको र त्यसले मानसिक दबाब झन् बढाएको उनको भनाइ छ।