काठ्माडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा पक्राउ परेका चार किशोरमध्ये तीन जनासँग घटनासम्बन्धी डीएनए नमुना नमिलेको फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ। काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले तयार पारेको रिपोर्टअनुसार इनिशाको शरीर, कपडा तथा घटनास्थलबाट संकलित नमुनासँग तीन किशोरको डीएनए मेल नखाएको उल्लेख गरिएको छ।
अनुसन्धानबाट इनिशासँग शारीरिक सम्पर्क उनका प्रेमी भनिएका युवकसँग मात्र भएको देखिएको फरेन्सिक विवरणमा उल्लेख छ। यद्यपि, उक्त सम्बन्ध सहमतिमा भएको थियो वा जबर्जस्ती भन्ने विषयमा अदालतले प्रमाण र साक्ष्यका आधारमा अन्तिम निर्णय गर्नेछ।
इनिशा कक्षा ११ मा अध्ययनरत थिइन्। उनी २०८२ फागुन २३ गते बिहान ट्युसन र विद्यालय जान भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा उनी गम्भीर अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जाहेरी दिएपछि प्रहरीले चार जना नाबालिग किशोरलाई नियन्त्रणमा लिएको थियो। प्रेमी भनिएका युवकले भने आफूहरूबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र घटनाको दिन पनि सहमतिमै शारीरिक सम्बन्ध भएको बयान दिएका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा मुख्य अभियुक्तलाई बलात्कार र हत्या तथा अन्य तीन जनालाई पीडितलाई बचाउन आवश्यक भूमिका नखेलेको आरोपमा कारबाही गर्न सिफारिस गरेको जनाएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले चारै जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।
नयाँ फरेन्सिक रिपोर्ट सार्वजनिक भएपछि तीन किशोरका कानुन व्यवसायीले उनीहरूविरुद्ध सामूहिक बलात्कारको आरोप पुष्टि नभएको दाबी गर्दै साधारण तारेखमा रिहाइको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
यद्यपि, डीएनए रिपोर्ट मात्र कुनै मुद्दाको अन्तिम आधार नहुने कानुनी जानकारहरू बताउँछन्। घटनाका सम्पूर्ण प्रमाण, परिस्थितिजन्य तथ्य, साक्षी तथा अन्य कानुनी पक्षको मूल्यांकनपछि मात्रै अदालतले अन्तिम फैसला सुनाउनेछ। यसबीच पीडित परिवारले निष्पक्ष अनुसन्धान र न्यायको अपेक्षा गर्दै आएको जनाएको छ।