काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय विद्यार्थी लजिन थापाको शव बेपत्ता भएको आठ दिनपछि मनखोलामा फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आइफोनको विषयमा भएको विवादपछि उनको हत्या भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठमाडौंको धुम्बाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन साउन १ गते राति साथी अशिम वनको जन्मदिन मनाउन बडिगाड–१ स्थित दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीले मदिरा सेवन गरी रात बिताएका थिए।
प्रहरीका अनुसार साउन २ गते बिहान करिब २:३० बजे घर फर्कने क्रममा उनीहरू छुट्टिएका थिए। लजिन घर नफर्किएपछि परिवारले प्रहरीमा जानकारी गराएको थियो। त्यसपछि स्थानीय प्रहरी, गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, ड्रोन, तालिमप्राप्त खोजी कुकुर तथा स्थानीयको सहयोगमा खोजी अभियान सञ्चालन गरिएको थियो।
खोजीको आठौं दिन साउन ९ गते बिहान बडिगाड–१ स्थित मनखोलामा लुकाइएको अवस्थामा सड्न थालेको लजिनको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल पठाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बडिगाड–१ का २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय अशिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साउन २ गते बिहान करिब ४ बजे लजिनसँग आइफोन माग्ने विषयमा विवाद भएको थियो। मोबाइल दिन अस्वीकार गरेपछि कुटपिट गरी हत्या गरिएको र शव करिब आधा घण्टा बोकेर मनखोलामा लुकाइएको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।