काठ्माडौं । एक वर्षअघि कोशी प्रदेशका जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पतालको सम्मान पाएको उदयपुरस्थित प्रादेशिक जिल्ला अस्पताल अहिले गम्भीर संकटमा परेको छ। आधारभूत स्वास्थ्य सामग्रीको अभाव, आर्थिक अव्यवस्था, प्रशासनिक विवाद तथा व्यवस्थापन कमजोरीका कारण अस्पतालको सेवा प्रवाह प्रभावित बनेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बताएका छन्।
५० शय्याभन्दा बढी क्षमताको अस्पतालमा स्त्री तथा प्रसूति, नवजात तथा बालरोग, हाडजोर्नी, नसारोग र दन्तरोगलगायतका विशेषज्ञ सेवा उपलब्ध भए पनि आवश्यक सामग्री अभावका कारण सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। अधिकांश वार्ड खाली छन् भने अक्सिजन, प्रयोगशाला, एक्स–रे तथा हेमोडायलाइसिसजस्ता अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्।
केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको वास्तविक अवस्था सार्वजनिक गर्दै तत्काल समस्या समाधान नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
चिकित्सकहरूका अनुसार फिल्टर, साबुन, सर्फ, गज, पञ्जा, कुचोलगायत दैनिक प्रयोग हुने सामग्रीसमेत अभाव भएको छ। उनीहरूले अस्पतालको समस्या स्वास्थ्य सेवाभन्दा पनि प्रशासनिक तथा आर्थिक व्यवस्थापनसँग जोडिएको बताएका छन्।
अस्पतालमा अक्सिजन आपूर्ति केही सातादेखि अवरुद्ध रहेको चिकित्सकहरूको भनाइ छ। डा. कृष्णकुमार यादवले अक्सिजनजस्तो आधारभूत सेवा नहुँदा जटिल बिरामीको उपचार गर्न कठिन भएको र चिकित्सकहरू मानसिक दबाबमा काम गर्न बाध्य भएको बताए।
प्रयोगशाला सेवा पनि लगभग ठप्प बनेको छ। रगत, दिसापिसाब तथा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) जस्ता आधारभूत परीक्षणसमेत नियमित हुन नसक्दा बिरामी निजी प्रयोगशालामा जान बाध्य भएका छन्। यसले बिरामीको आर्थिक भार बढ्नुका साथै सरकारी अस्पतालप्रतिको विश्वास कमजोर बनेको चिकित्सकहरूको भनाइ छ।
अस्पतालमा दुईवटा एक्स–रे प्रिन्टर हुँदाहुँदै थप नयाँ प्रिन्टर खरिद गरिएको विषयले पनि विवाद सिर्जना गरेको छ। चिकित्सकहरूले आवश्यकता मूल्यांकन नगरी गरिएको खरिदले सीमित स्रोतको दुरुपयोग भएको आरोप लगाएका छन्। हाल एक्स–रे सेवा पनि प्रभावित रहेको उनीहरूको भनाइ छ।
पूर्वी नेपालका विभिन्न जिल्लाका बिरामीलाई सेवा दिँदै आएको हेमोडायलाइसिस सेवा पनि आवश्यक सामग्री अभावका कारण संकटमा परेको चिकित्सकहरूले बताएका छन्। नियमित डायलाइसिसमा निर्भर मिर्गौला रोगीको उपचार प्रभावित हुँदा उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिइएको छ।
यसैबीच विशेषज्ञ चिकित्सकहरूले ६ महिनादेखि प्रोत्साहन भत्ता नपाएको, मेडिकल अधिकृतहरूले ४ महिनादेखि अतिरिक्त भत्ता नपाएको तथा अन्य कर्मचारीले पनि विभिन्न सुविधा नपाएको गुनासो गरेका छन्।
स्वास्थ्यकर्मीहरूले अस्पतालको लेखा तथा प्रशासनिक संयन्त्रलाई समस्याको मुख्य कारणका रूपमा औँल्याउँदै अस्पताल विकास तथा व्यवस्थापन समितिका निर्णय कार्यान्वयनमा बेवास्ता गरिएको, आर्थिक पारदर्शिता कायम नगरिएको तथा आवश्यक सामग्री खरिदमा ढिलाइ हुँदा सेवा प्रवाह प्रभावित भएको बताएका छन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तत्काल समस्या समाधान गरी अस्पतालको सेवा नियमित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।