काठमाडौं। आईएचएफ ट्रफीमा कांस्य पदक जितेर नेपाली यू–१८ ह्यान्डबल टोली स्वदेश फर्केको छ । प्रतियोगिता भारतको जयपुरमा भएको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरूले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ। यू–२० टोलीको स्वागतमा मंगलबार आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले बधाई दिँदै उक्त धारणा राख्नुभएको हो ।
‘हरेक खेल संघले घरेलु जुनियर प्रतियोगिता आयोजनामा जोड दिनुपर्छ । जुनियर प्रतियोगितालाई ध्यान नदिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा सम्भव हुँदैन ।’ उहाँले राष्ट्रिय टिम बलियो बनाउन जुनियर प्रतियोगितामा जोड दिनुको विकल्प नरहेको बताउनुभयो। सदस्य–सचिव घिसिङले पदक विजेता टोलीका साथै सहभागी टोलीका खेलाडीलाई सीमित स्रोत र साधनका बावजुद उच्च प्रदर्शन गरेकोमा प्रशंसा गर्नुभयो ।
जुलाई १० देखि १४ सम्म भएको प्रतियोगितामा यू–१८ तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३०–२८ ले गरेको थियो । यू–२० मा भने तेस्रो स्थानका लागि नै भएको खेलमा माल्दिभ्ससँग नेपाल पराजित भएको हो । दुवै उमेर समूहमा नेपालबाट पुरुष टोलीले सहभागिता जनाएको थियो । टोली मंगलबारै स्वदेश फर्किएको हो ।
यू–१८ तर्फ सोनिश तामाङ, हविन छन्त्याल, रोशन बिक, विवेक थापा, ऋतिक परियार, प्रसनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, नीरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा तथा यू–२० तर्फ प्रलेश गुरुङ, सुदीप घले, निशान परियार, मनीषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राना, दविन जुग्जाली पुन, मिलन खवास, मनीष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दीपेश खड्का र सुमित राना रहनुभएको थियो।