काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान दल र तिनीहरूको अवस्थासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । वर्तमान सरकार लामो समय नटिक्ने दाबीसहितको राजनीतिक प्रतिवेदनमा उहाँले वर्तमान सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेसहित विप्लव नेकपाबारे पनि उक्त प्रतिवेदनमार्फत टिप्पणी गर्नु भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा उहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अहिलेको सरकार चीनको सहयोगमा बनेको आरोप लगाउनु भएको छ । उहाँको प्रतिवेदनमा छ–‘गोर्खाली सत्ता कमजोर बनेसँगै नयाँ बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग तीव्र बनेको छ ।’
२०७२ सालमा संविधान जारी गर्दा नेपाली कांग्रेस र नेकपा एमाले ‘गोर्खाली राज्यको पुनर्स्थापना’का लागि एकताबद्ध भएको उल्लेख गरेका महतोले अहिले पनि त्यही बाटोमा अघि बढिरहेको दाबी गर्नु भएको छ । संघीयता कागजी रूपमा सीमित रहेको र संघीय सरकार आफ्नो पार्टीका आसेपासे र नेतालाई खुसी पार्नमा केन्द्रित रहेको उहाँले गुनासो गर्नु भएको छ ।
अध्यक्ष महतोले कांग्रेस पार्टी हाल ‘क्लासिकल लिबरल्स’को स्वरूपमा सीमित रहेको टिप्पणी पनि गर्नुभयो। ‘कांग्रेसले न बहु सांस्कृतिक सुधारको पक्षपोषण गर्छ, न त सामाजिक न्यायको परिप्रेक्ष्यलाई स्वीकार गर्छ,’ उहाँले बताउनुभयो ।
कांग्रेस-एमाले, विप्लव
आफ्नो पार्टीले कांग्रेसलाई मित्र नभई विपक्षी शक्तिका रूपमा मानेको उहाँले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ । एमालेलाई भने उहाँले प्रमुख प्रतिस्पर्धी पार्टीका रूपमा राख्नु भएको छ । ‘हाल यो (एमाले) पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ । एमाले, आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण राष्ट्रिय मुक्तिका लागि सबैभन्दा खतरनाक शक्ति हो । यसलाई प्रमुख प्रतिस्पर्धी शक्तिका रूपमा चिह्नित गर्दै यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ ।’
प्रारम्भमा उत्पीडित जाति–वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि हाल नवपुँजीवादी र मध्यमवर्गीय स्वार्थमा एमाले फसेको महतोको दाबी छ । महतोले एमाले पुँजीवाद र अवसरवादको मिश्रण भएकाले यसले स्पष्ट नीति निर्माण गर्न असफल भएको पनि दाबी गरेका छन् । ‘एमाले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि पर्दैन,’ प्रतिवेदनमा लेखिएको छ ।
यसैगरी, महतोले माओवादीले प्रचण्डपथको माध्यमबाट २१औं शताब्दीको जनवादलाई नेपाली सन्दर्भमा संश्लेषण गर्दै जनयुद्धलाई उच्चतम् स्तरसम्म पुर्याए पनि हेटौँडा महाधिवेशनपछि यो पार्टी (नेकपा माओवादी) निम्न पुँजीवादी संशोधनवादमा फस्दै गएको टिप्पणी गर्नु भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बारे अध्यक्ष महतोले भन्नुभयो, ‘यसको कुनै स्पष्ट विचारधारा वा दीर्घकालीन योजना छैन ।’
उग्रवामपन्थी धारमा रहेको नेकपा (विप्लव) अहिले संसदीय राजनीतिमा प्रवेश गर्ने दिशामा रहेको उल्लेख गर्दै महतोले यो संगठनको पनि टिप्पणी गर्न छोड्नु भएको छैन । विप्लवले राष्ट्रिय संघर्षलाई केवल उपयोगवादका रूपमा प्रयोग गरिरहेको महतोको टिप्पणी छ ।