नेपालगन्ज । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र देशको समस्या समाधानका लागि नेपाल कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले सरकारले आफ्नो उद्देश्य अनुरुप काम गरिरहेको जनाउँदै आगामी निर्वाचनसम्म कांग्रेस–एमाले गठबन्धन जारी रहने बताए ।
उहाँले सहमति अनुसार २०८४ सालको निर्वाचन कांग्रेसका सभापतिको नेतृत्वको सरकारले गराउने जनाउँदै यो सरकारलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्नुका साथै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने कार्य पनि गरिरहेको प्रष्ट पार्दै उपप्रधानमन्त्री सिंहले सरकार देश र जनताको उन्नतिका लागि अहोरात्र काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण भएसँगै प्रतिपक्षिहरुले सरकार टिक्दैन भनि हो हल्ला गर्दै आए पनि सात महिना बितिसकेको र झन बलियो तथा सुदृढ भएर सरकारले काम गरिरहेको छ ।’
कसैले हो हल्ला गर्दैमा वा कराउँदैमा सरकारको स्थायित्वमाथि कुनै पनि प्रभाव नपर्ने र आगामी निर्वाचनसम्मै यो गठबन्धन कायम रहने दाबी उपप्रधानमन्त्री सिंहले गर्नुभयो ।
नेपाली कांग्रेस एक ढिक्का भयो भने कुनै पनि तागतले कांग्रेसलाई बहुमत ल्याउनबाट रोक्न नसक्ने प्रष्ट पार्दै उहाँले अहिलेबाटै कांग्रेसका सबै नेता कार्यकर्ताले स्थानीयस्तरमा देखिएका सबै प्रकारका विवाद समाधान गरेर एक ढिक्का भइ अगाडि बढ्न निर्देशन दिनुभयो ।
देशमा हालसम्म भएका सबै ठुला ठुला आन्दोलन र विकास निर्माणको नेतृत्व नेपाली कांग्रेसलेनै गरेको जानकारी दिँदै उहाँले अहिले पनि देशमा स्थायित्व कायम गरेर आर्थिक तथा भौतिक विकासका लागि कांग्रेसलेनै एमालेसँग मिलेर काम गरिरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सङ्घीय सांसद किशोरसिंह राठौरले देशमा केही पनि भएको छैन र देशनै समाप्त हुन लाग्यो भन्ने कुरा गलत भएको जनाउँदै त्यस्ता गलत भाष्यका पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।