काठमाडौ । बिशेषगरी मधेस प्रदेशका स्थानीय तहको सरकारसंगै गाउँ गाउँका अधिकास स्थानमा कालोपत्रे सडक पुगिसकेको छ । तर सो कालोपत्रे सडकमा अहिले हिड्दा दुर्घटनाको सम्भावना बढेको छ ।
रौतहटको बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ ।
जसका कारण उक्त सडकमा सवारी चलाउदा दुर्घटनाको जोखिम बढेको बृन्दावन नगरपालिकाको वार्ड नं. ३ रामनरेश पटेलले बताए । सडकमा अन्नबाली सुकाउँदा विशेषगरी साँझको समयमा सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।
गाउँ घरमा अहिले प्रायः सबैले कालोपत्रे सडकमा नै मकैको बिस्कुन लगाउने गरेकाले सडकमा सवारी चलाउन समेत गह्रो हुने गरेको उनले बताए । सडकमा मकै सुकाउँदा केही स्थानमा त आधा सडक नै ढाकिएको देखिन्छ उनले भने ।
यसतर्फ कसैले चासो नदिएको उनको आरोप छ । मकै खेत छेउकै सडकमा सुकाएर केहि कृषकले स्थानीय व्यापारीलाई मकै बिक्री गर्ने गरेका छन । कालोपत्रे सडकमा चाडैं मकै सुक्ने र सहज हुने स्थानीय कृषक रामभरोसी साहले बताए ।
सडकमा घाम राम्रो लाग्ने र ढुवानी खर्च पनि नलाग्ने र गुन्द्री, त्रिपाल पनि आवश्यक नपर्ने उनले बताए । खेतमा उत्पादन भएको मकै राम्रोसँग सुकाउन सजिलो हुने भएकाले सडकमा नै सुकाउने गरिएको हो उनले भने ।
सडकमै अन्न सुकाउने कार्यले सडक दुर्घटना हुन सक्ने भएकाले सो कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले अनुरोध गरेको छ ।