हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन् । गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो ।
यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ । मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो । टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश हुनुुहुन्छ । उहाँहरुले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गर्नु भएको छ ।
अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ । म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो । प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गर्नु भएको थियो ।
भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ । जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ । त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ ।
त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ । वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई ‘सेयर स्ट्रेन्थ’ शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ । यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ ।