।काठमाडौ, युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलले दुई घन्टा वार्ता गरेका छन् । शुक्रबार टर्कीको इस्तानबुलमा वार्ता भएको हो ।
उक्त वार्तापछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक–एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिएका छन्।
उनले भने, ‘हामीले युद्धविराम र मानिसहरू आदानप्रदानका विषयमा छलफल ग¥यौँ। एक हजार मानिस (युद्धबन्दी) रिहाइ गर्ने सहमति हाम्रो बैठकको परिणाम हो।’
दुबै पक्षले चाँडै नै सम्भावित युद्धविरामको बारेमा आफ्नो विस्तृत विचार प्रस्तुत गर्ने जनाएका छन् र त्यसपछि वार्ता अगाडि बढ्नेछ। सो क्रममा युक्रेनले दुई राष्ट्रपतिहरू बीच प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको थियो ।
युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको थियो ।
युक्रेनी रक्षामन्त्री रुस्तेम उमरोभलाई उद्धृत गर्दै सरकारी अनाडोलु एजेन्सीले दुवै पक्षले तीन प्रमुख विषयहरूमा ध्यान केन्द्रित गरेको बताएका छन् । युद्धविराम, कैदी आदानप्रदान र भविष्यमा हुने राष्ट्रपति शिखर सम्मेलनको सम्भावना रहेको जनाइएको छ ।
वार्ताको अध्यक्षता गर्ने टर्कीका विदेशमन्त्री हाकान फिदानले बैठकले विश्वास निर्माण गर्ने र भविष्यका वार्ताहरूको जग बसाल्ने उद्देश्यले धेरै महत्त्वपूर्ण परिणामहरू निकालेको बताएका छन् ।
आइतबार पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरेपछि इस्तानबुल वार्ता हुँदैछ। जेलेन्स्कीले पहिले नै पुटिनसँग प्रत्यक्ष भेटघाटको लागि खुला रहेको बताएका थिए । यद्यपि, क्रेमलिनले पुटिनले वार्तामा भाग नलिने बताएको छ । युक्रेन र रुसबीचको अन्तिम प्रत्यक्ष वार्ता मार्च २०२२ मा इस्तानबुलमा भएको थियो । (सीसीटीभीप्लस)