काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएको छ । निर्वाचन समितिका अनुसार कुल १४०४ प्रतिनिधिले मतदान गरेका छन्।
देशभरका सातै प्रदेश र विशेष कोटाबाट प्रतिनिधित्व गर्दै झण्डै १७६५ प्रतिनिधि महाधिवेशनमा सहभागी भएका थिए। निर्वाचन समितिका अनुसार कोशी प्रदेशबाट १८५, मधेस प्रदेशबाट १०१, बागमतीबाट १६४, गण्डकीबाट १२३, लुम्बिनीबाट १३१, कर्णालीबाट १०५, सुदूरपश्चिमबाट ११६, विशेष प्रतिनिधि ६९ र आयोजकतर्फबाट ४१० जना गरी १४०४ प्रतिनिधिले मतदान गरेका हुन्।
एक दिनभरिको प्रयासपछि पनि सहमतिका प्रयास सफल नभएपछि उम्मेदवारबीचको प्रत्यक्ष प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्ने निर्णय गरिएको हो। मतदान सम्पन्न भएसँगै कसले मार्ला त बाजी ?’ भन्ने चासो र कौतूहल महाधिवेशन स्थलमा थप चुलिएको छ।
नतिजा आज राति साढे ७ बजेभित्र सार्वजनिक हुने राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतगणना को प्रक्रिया तीव्र रूपमा भइरहेको छ, आजै रातिसम्ममा हामी नयाँ नेतृत्व पाउँछौं।”
महाधिवेशनमा सहभागिता, प्रतिस्पर्धा र संगठनको भावी दिशा तय गर्ने कार्यले यो महाधिवेशनलाई एमालेको संगठनभित्र विशेष महत्वको रूपमा हेरिएको छ। अब नेतृत्व कसको हातमा जाने हो भन्ने प्रश्नमा सबैको नजर मतगणनातर्फ केन्द्रित छ।