झापा, जेठ १३
पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनमा केन्द्रीय सचिव पदमा झापा शिवशताक्षी नगरपालिका–४ की निशा लिम्बु विजयी बनेकी छन्। कोशी प्रदेश हुँदै केन्द्रसम्मको प्रभावशाली राजनीतिक यात्रा तय गरेकी लिम्बुको यो विजयसँगै एमालेको युवा संगठनभित्र महिला नेतृत्वको उपस्थिति अझ मजबुत बनेको छ।
सामान्य परिवारमा जन्मिएकी, अविवाहित र मानविकी संकायमा स्नातकोत्तर गरेकी निशा लिम्बु विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको सांगठनिक वृत्तमा समर्पित रहिआएकी छन्। राष्ट्रिय युवा सङ्घ नेपालकी केन्द्रीय सदस्य, महिला विभाग प्रमुख जस्ता जिम्मेवारी सम्हालिसकेकी लिम्बुले केन्द्रीय नेतृत्वमा निर्णायक भूमिकाको सम्भावना बोकेर उम्मेदवारी दिएकी थिइन्। महाधिवेशनमा मङ्गलबार बिहानदेखि भएको मतदान प्रक्रियामा उनले आफ्नो समकालीन प्रतिस्पर्धीलाई स्पष्ट अन्तरले पछि पार्दै सचिव पदमा जित हासिल गरिन्।
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट उम्मेदवार बनेकी लिम्बुले थेवेको समूहबाट चुनाव लडेकी थिइन्। थेवेको समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन्, जसमा उनी पनि पर्छिन्। नारी नेतृत्वको सशक्त प्रतीक राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामा भन्छन्, “निशा लिम्बु कोशी प्रदेशमा महिला नेतृत्वको सशक्त पहिचान हुन्। उनीसँग संगठन चलाउने क्षमता, विचार राख्ने साहस र जुझारु कार्यशैली छ । जसले उनलाई युवामाझ लोकप्रिय बनाएको छ।” नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दीपक कार्की पनि उनको कामबाट प्रभावित छन्। “निशाले संगठनमा चुपचाप तर गहिरो योगदान दिएकी छन्,” उनले भने, “झैझगडा नगरी, तर ठोस काम गरेर अघि बढ्ने नेतृको रूपमा उनको विशेष स्थान छ। यस्तो खालका युवा नेतृत्व संगठनको भविष्यका लागि सशक्त आधार हुन्।”
महाधिवेशनको सन्दर्भमा महिला सहभागिता प्रायः प्रतिनिधित्वको सीमिततामा बाँधिने परिपाटीबीच निशा लिम्बुको स्पष्ट उम्मेदवारी र जीतले त्यो प्रवृत्तिमा सकारात्मक धक्का दिएको छ। नेतृत्व क्षमतादेखि राजनीतिक कर्मठता, अनुशासन, संगठनप्रतिको निष्ठा र क्षेत्रीय प्रभावका कारण उनले प्रतिस्पर्धीको तुलनामा उल्लेखनीय रूपमा बढी मत प्राप्त गरेकी हुन्। विजयले खोलेको सम्भावनाको ढोका लिम्बुको विजयले राष्ट्रिय युवा संघभित्र महिला नेतृत्वको सम्भावना र योग्यता–आधारित मूल्याङ्कनप्रति गहिरो बहस पनि जन्माएको छ। यस्तो बहसले निकट भविष्यमा पार्टी नेतृत्व छनोटको ढाँचा, प्रतिनिधित्वको गुणस्तर र संगठनको समावेशी रूपान्तरणतर्फ पनि मार्ग खोल्ने अपेक्षा गरिएको छ।
उनको जितले ‘सहमतिको नाममा महिलालाई प्रतिनिधित्व मात्रै दिने’ पुरानो अभ्यासमा चोट पुर्याएको छ। अब महिला नेतृहरू पनि प्रत्यक्ष प्रतिस्पर्धाबाट जित्नसक्छन् भन्ने कुरा उनले प्रमाणित गरेकी छन्। युवा संगठनभित्र मात्रै होइन । समग्र एमाले संगठनभित्र उनीजस्ता नारी नेतृत्वले अब नयाँ सन्देश दिन सक्नेछन् ।संगठन, विचार र नेतृत्वको विषयमा महिला सक्षमताका लागि तयार छन्। निशा लिम्बुको जीत यो नयाँ पुस्ताको आवाज भएको नेकपा एमाले शिव शताक्षी नगरका पार्टी इन्चार्ज चन्द्रकुमार शेर्माले बताए ।