झापा, जेठ २४ ।
झापाको शिवसताक्षी नगरपालिका–११ स्थित गोलोक गोवर्धन गौशालामा मङ्सिर १ गतेदेखि १८ गतेसम्म १०८ कुण्डीय गायत्री कोटीहोम तथा श्री पद्म महापुराण विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
गौशालाले दोस्रोपटक आयोजना गर्न लागेको यो कोटीहोमका लागि शनिबार आयोजित भेलाबाट गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजको संयोजकत्वमा २५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । गौशालाले यसअघि २०७६ सालमा पहिलोपटक शताक्षीधाममै यस्तै कोटीहोम आयोजना गरेको थियो । यस वर्षको आयोजनालाई अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय धार्मिक तथा आध्यात्मिक समागमका रूपमा विस्तार गर्ने तयारी गरिएको आयोजकको भनाइ छ । गोलोक गोवर्धन गौशालाको स्थापना २०७१ सालमा भएको हो । गौशाला स्थापना भएपछि शताक्षीधाम क्षेत्रमा धार्मिक, शैक्षिक र भौतिक पूर्वाधारको उल्लेखनीय विकास भएको छ । गौशाला परिसरमा मठ–मन्दिर, गुरुकुल विद्यालय, सडक कालोपत्रे, विद्युत, खानेपानी र सञ्चारका पूर्वाधार निर्माण भइसकेका छन् ।
गौशालाले विशेष रूपमा बुढा, असक्त र गैह्र कानुनी तवरले मासु प्रयोजका लागि विदेश निर्यातका लागि लगिने गाईहरूको संरक्षण गर्दै आएको छ । गोरक्षाका क्षेत्रमा क्रियाशील यो गौशालाले सनातन धर्म, संस्कार र जीवप्रेमको अभ्यासलाई संस्थागत रूपमा अघि बढाउँदै आएको छ । अहिले गौशालामा ७ सय बढी गाईको संरक्षण भइरहेको छ भने दु्ई तले विल्डिङ माथि गाई राखिएको छ । एक करोडपटक वैदिक मन्त्र उच्चारणसहित १०८ कुण्डमा हवन यज्ञ सञ्चालन गर्ने वैदिक परम्परालाई कोटिहवन भनिन्छ । यस अनुष्ठानले वातावरणीय शुद्धिकरण, मानसिक शान्ति, आध्यात्मिक जागरण र सामाजिक समृद्धिमा योगदान गर्ने विश्वास गरिन्छ । विशेषगरी गायत्री मन्त्रको सामूहिक जप र हवनबाट व्यक्तिको चेतनास्तर उकासिने र समाजमा सकारात्मक ऊर्जा विस्तार हुने वैदिक मान्यता रहेको छ ।
गौशालाका अध्यक्ष नन्द किशोर भारद्वाजका अनुसार यो कोटीहोम गोरक्षा, संस्कृतिप्रेम र वैदिक ज्ञानको पुनर्जागरण अभियानका रूपमा लिइएको छ । उनले कोटीहोमलाई सनातन संस्कृति र आस्थाको महाअभियान भन्दै यसमार्फत सताक्षीधामलाई धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनाउने दाबी गरे । कार्यक्रममा नेपाल, भारत, भुटान, श्रीलंका लगायतका देशका धार्मिक संघसंस्था, शंकराचार्य, वैष्णवाचार्य, सन्त महापुरुष, धर्माचार्य, सनातन धर्मप्रति आस्था राख्ने धर्मालुहरू, सज्जन महिला र अन्तर्राष्ट्रिय श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कोटीहोम सम्पन्न गर्न करिब ३ करोड ३६ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । कार्यक्रमलाई सफल बनाउन कोशी प्रदेश सरकार, झापाका १५ वटै स्थानीय तह र विभिन्न सामाजिक संघसंस्थासँग समन्वय सुरु गरिएको आयोजकले जनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँग दोहोरो छलफल भइसकेको र प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास आयोजकको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ्ग थोप्राले पनि कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको गौशालाका अध्यक्ष भारद्धाजले जनाएका छन् ।
कार्यक्रमका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०८२ सफल पार्न सहयोग पुग्ने आयोजकको विश्वास छ । शिवसताक्षी नगरपालिका भित्र रहेका शताक्षीधाम, चिल्लागढ, दोमुखालगायतका ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रचारप्रसार र पर्यटकीय विकासमा यो कार्यक्रम महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ । कोटिहोममा कम्तिमा १५ लाख हिन्दु लगायत अन्य धर्मालम्बि सताक्षीधाम आउने आयोजकको विश्वास छ ।