हेटौँडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सञ्चारको परिभाषा फेरिएसँगै चुनौती पनि थपिएको बताएका छन् । प्रदेशका सभामुख पाठकले सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उनले पत्रकारिताको बदलिँदो स्वरूप र सामाजिक सञ्जालको प्रभावबारे चेतावनी दिँदै सञ्चारकर्मीहरू अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए । सभामुख पाठकले थपे, ‘पत्रकारिता केवल समाचार लेख्ने माध्यम होइन, यो लोकतन्त्रको आत्मा हो । यसले संसददेखि सरकारका कामकाज, नागरिकका आवाज र समृद्धिका सम्भावनाबीच पुलको काम गर्छ ।’
कार्यक्रममा प्रदेश उपसभामुख आलसरा चापागाईंले पनि सञ्चारकर्मीहरूलाई संविधान निर्माणदेखि विकाससम्मको यात्रामा सहयात्रीका रूपमा स्मरण गरिन् । उनले भनिन्, ‘नेपालको भौगोलिक स्वरूपअनुसार बागमती प्रदेशले तराई, पहाड र हिमाल सबै समेटेको प्रदेश हो । यही कारण यो प्रदेश सबै अभ्यास र प्रयोग सिक्न सकिने थलो हो ।’
उनले सामाजिक सञ्जाल र प्रविधिको विस्तारले सञ्चार माध्यममा ल्याएको परिवर्तनलाई सकारात्मक बताउँदै भनिन्, ‘पहिला पत्रपत्रिका पढ्थ्यौं, अहिले मोबाइलमै समाचार हेर्न सकिन्छ । यो परिवर्तन हो, जुन सञ्चारकर्मीहरूको मेहेनतबाट सम्भव भएको हो ।’
कार्यक्रमको पहिलो दिन वरिष्ठ पत्रकार युवराज घिमिरेले ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक सन्दर्भ, राजनीतिक उतारचढाव र वर्तमान यथार्थबीच सञ्चार माध्यमको स्थिति प्रस्ट्याए । उनले सञ्चार माध्यमहरूले आफ्नो स्वतन्त्रता जोगाउँदै उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको दोस्रो दिन अर्थात् भोलि, कान्तिपुर दैनिककी सम्पादक दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् । उक्त सत्रमा पत्रकारिता र संसदबीचको सम्बन्ध, विधायिकाको अनुगमन र सूचनाको बहस गरिनेछ ।
बागमती प्रदेश सभाले आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको मूल उद्देश्य प्रदेश सरकार र सञ्चारकर्मीबीच निरन्तर संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्नु रहेको आयोजकहरूले बताएका छन् ।
सतही रूपमा केही घडीको विश्रामजस्तो देखिए पनि, यसभित्र नवीन सोच, नवीन अभ्यास र साझा उत्तरदायित्वको खोज समेटिएको आयोजकको भनाइ छ । कार्यक्रममा मकवानपुर जिल्लासहित बागमती प्रदेशभरिका पत्रकारहरूको सहभागिता, विविध विषयमा कार्यपत्र प्रस्तुति र अनुभव आदानप्रदानले यो कार्यक्रम प्रदेशस्तरको पत्रकारितामा एउटा सार्थक अभ्यासको उदाहरण बनेको छ ।