झिलझिले, जेठ ५ ।
नेपाल स्काउटको ७४ औँ स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित मूल समारोहमा झापाको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा (रोषन) लाई सम्मान गर्ने कार्यक्रम छ । स्थानीय तहमा स्काउट कार्यक्रमको विस्तार, प्रभावकारी सञ्चालन र सामाजिक उत्तरदायित्वमा पु¥याइएको योगदानको कदर गर्दै नेपाल स्काउट कोशी प्रदेश समितिले उनलाई सम्मान गर्ने निर्णय गरेको हो ।
समारोह विराटनगर–११, पतञ्जली रोडस्थित कञ्चनजङ्गा पार्टी प्यालेसमा आयोजना गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका स्काउट प्रतिनिधिहरू, प्रशिक्षक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको नेपाल स्काउट कोशी प्रदेशका प्रमुख हेमन्त भण्डारीले बताए । नगर प्रमुख थोप्रा भने आजै नेकपा एमाले शिवसताक्षी नगर समन्वय समितिको बैठकमा अनिवार्य सहभागी हुनुपर्ने बाध्यता भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् । उहाँको सम्मान स्काउट प्रतिनिधि मार्फत पालिकामै पुर्याइने नेपाल स्काउट कोशी प्रदेशले जनाएको छ । शिवसताक्षी नगरपालिकामा नेपाल स्काउटको गतिविधि औपचारिक रूपमा २०७७ सालमा तदर्थ समिति गठनपछि सुरु भएको हो । तत्कालीन नगर प्रमुख चन्द्रकुमार शेर्माको सिफारिसमा डिगम पराजुलीको नेतृत्वमा तदर्थ समिति गठन भएको सो समितिले छोटो समयमा नै प्रभावकारी गतिविधिहरू सञ्चालन गर्न थालेको थियो । २०८१ को माघ २८ मा पुन स्थानिय प्रमुख आयुक्तमा पराजुली नियक्त भएपछि नेपाल स्काउट शिवसताक्षीको अभियान ससक्त हुन थालेको हो । सुरुमा केही विद्यालयमा सीमित कार्यक्रम भए पनि अहिले नगरका कम्तिमा २० वटा विद्यालयमा स्काउट क्लब स्थापना भइसकेका छन् ।-1750316195.jpeg)
नेपाल स्काउट शिवसताक्षी नगर समितिले सञ्चालन गरेका कार्यक्रमहरू केवल स्काउट पोशाकमा परेड गर्ने औपचारिकता मात्रमा सीमित छैनन् । यी गतिविधिहरू बालबालिका र युवामा नेतृत्व, जिम्मेवारी, सेवा भावना र संकट व्यवस्थापनको क्षमताको विकासमा केन्द्रित छन् । स्काउट गतिविधिबाट प्रेरित भएर विद्यार्थीहरूमा सहकार्यको भावना, अनुशासन, सार्वजनिक व्यवहार र व्यवहारिक ज्ञानमा उल्लेखनीय परिवर्तन आएको भानु माद्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले बताए । उक्त परिवर्तनशील यात्रामा नेपाल स्काउट शिवसताक्षीले कयौँ अनुकरणीय र प्रशंसायोग्य कार्यक्रमहरू सञ्चालन गरेको छ । जसमध्ये कोरोना महामारीको कठिन समयमा नेपाली सेनासँग सहकार्य गर्दै स्थानीय तहमा मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन गर्ने साहसिक र संवेदनशील कार्यलाई नगरवासीले अझै पनि स्मरण गर्छन् । स्काउट मास्टरहरू दुई वर्षसम्म उक्त कार्यमा निरन्तर खटिए । त्यस्तै बाढी, आगलागी र अन्य प्रकोपमा उद्धार, राहत तथा पुनस्र्थापनासँगै वृक्षारोपण अभियान, सार्वजनिक स्थल सरसफाइ, प्राथमिक उपचार तालिम, साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम, सडक सुरक्षा गोष्ठी र लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि नगरस्तरमै सञ्चालन भएका छन् ।
‘एक विद्यार्थी, एक बिरुवा’ अभियानमार्फत विद्यालय परिसर र सार्वजनिक स्थलमा हरियाली बढाउने प्रयास नेपाल स्काउट शिवसताक्षीले गरेको छ । विद्यार्थी र शिक्षकहरूका लागि ट्रुप लिडर तालिम, पेट्रोल लिडर तालिम, पुनर्ताजगी कार्यक्रमलगायत विविध तालिमहरू सञ्चालन गरी दक्ष स्काउट नेतृत्व तयार पार्ने कार्यमा पनि नगर स्काउट सक्रिय छ । नेपाल स्काउटको ७४ औँ स्थापना दिवसका अवसरमा नगर प्रमुख मेघाहाङ थोप्राले स्काउट परिवारप्रति शुभकामना व्यक्त गर्दै स्काउट अभियानले विद्यालय शिक्षामात्र नभई व्यवहारिक जीवन निर्माणमा पनि महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरे । शुभकामना सन्देशमार्फत उनले स्काउटलाई अझै फराकिलो परिप्रेक्ष्यमा हेर्न आवश्यक रहेको बताउँदै विद्यालयहरूले थप सक्रिय रूपमा स्काउटमा आवद्ध भई विद्यार्थीहरूको नेतृत्व, सेवा भावना र सामाजिक चेतनामा योगदान पु¥याउन आह्वान गरेका छन् । ‘स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र समुदायको सहयोगमा स्काउट कार्यक्रमले अहिले शिवसताक्षी नगरपालिकामा समाज रूपान्तरणको एउटा सशक्त आधार तयार गरेको छ । बालबालिकालाई सानो उमेरदेखि नै सेवा, अनुशासन र नेतृत्वको संस्कार दिनु आजको आवश्यकता हो भन्ने सन्देश स्काउट अभियानले निरन्तर दिँदै आएको छ,’ नगर प्रमुख थोप्राको शुभकामना शन्देसमा उल्लेख छ ।
नेपाल स्काउटको ७४ औँ वार्षिकोत्सव मुलुकभर विविध कार्यक्रमहरूसँगै उत्साहपूर्वक मनाइएको छ । शिवसताक्षी नगरपालिकाको योगदानले यो अभियानलाई थप प्रेरणा र गहिराइ प्रदान गरेको स्थानिय प्रमुख आयुक्त डिगम पराजुलीले बताए ।