काठ्माडाैं। तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ जना कृषकलाई प्रोत्साहनस्वरूप अनुदान रकम प्रदान गरेको छ। परम्परागत गोरुपालनको अभ्यास हराउँदै गइरहेका बेला कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले प्रतिहल गोरु ४,००० रुपैयाँका दरले अनुदान दिएको हो।
गाउँपालिकाको पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलका अनुसार चालू आर्थिक वर्षमा वडा नं. १ देखि ४ सम्मका कृषकले यो अनुदान प्राप्त गरेका हुन्। “कुल रु ११ लाख खर्च गरी २७५ कृषकलाई अनुदान वितरण गरिएको छ,” पौडेलले बताए।
उनका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा वडा नं. ५ देखि ७ सम्मका करिब ४०० गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्ने योजना रहेको छ र सोअनुसार बजेट पनि विनियोजन भइसकेको छ।
गाउँपालिकाले सातवटै वडामा पालैपालो अनुदान वितरण गर्ने अभ्यास गर्दै आएको छ। गोरु पाल्ने कृषकलाई प्रत्येक वर्ष नदिई एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने परम्परा घट्दै जाँदा खेतबारी बाँझो हुने क्रम बढेकाले कृषकलाई प्रोत्साहन दिन यो कार्यक्रम ल्याइएको बताए। “यस कार्यक्रमपछि गोरु पाल्ने कृषकको संख्या बढेको छ र खेतबारी बाँझो राख्ने चलन पनि घटेको छ,” उनले भने, “कार्यक्रम प्रभावकारी बन्दै गएको छ।”
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार, गोरुपालनका लागि दिइने अनुदान रकम गोरुको पोषणमा खर्च गर्न कृषकहरूलाई सुझाव दिइने गरिएको छ। साथै, अनुदान प्राप्त गर्ने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई 'ट्यागिङ' गर्ने अभ्याससमेत गरिएको छ।