काठमाडौं, — ढाकामा जारी साफ यू–२० वुमेन्स च्याम्पियनसिप अब निर्णायक चरणमा पुगेको छ। उपाधिका लागि नेपाल र आयोजक बंगलादेशबीच सोमबार हुने खेल फाइनलसरह बन्ने पक्का भएको छ।
शनिबार सम्पन्न दोस्रो अन्तिम चरणको खेलमा नेपालले भुटानमाथि ८–० को प्रभावशाली जित निकाल्दै उपाधि होडलाई रोमाञ्चक बनाएको हो। यता, बंगलादेशले पनि श्रीलंकालाई ५–० ले हराउँदै शीर्ष स्थान कायमै राखेको छ।
डबल राउन्ड रोबिन प्रणालीमा जारी प्रतियोगितामा हालसम्म बंगलादेश अपराजित रहँदै ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा रहेको छ। अब सोमबारको अन्तिम खेल उपाधि निर्धारण गर्नेछ।
नेपालका लागि जित बाहेक विकल्प छैन
बंगलादेशसँगको पहिलो भेटमा नेपाल ३–२ ले पराजित भएको थियो। प्रतियोगिताको नियमअनुसार अंक बराबरी भए ‘हेड टु हेड’ नतिजा हेरिने भएकाले नेपालले उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने हुन्छ। बंगलादेशलाई भने बराबरीको नतिजा पर्याप्त हुनेछ।
शनिबारको खेलमा नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दा समिक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल थपे। मीनाले खेलको सुरुवाती ४४ औं सेकेन्डमै गोल गर्दै लय बनाएकी थिइन्।
खेलपछि नेपाली टिमका प्रशिक्षक याम गुरुङले टोलीको अनुशासित प्रदर्शनको प्रशंसा गरे। ‘गर्मीले खेल कठिन बनायो, तर हामीले राम्रो प्रदर्शन गर्यौं,’ गुरुङले भने, ‘अबको खेल निर्णायक हो, हामी सतर्क र रणनीतिक भएर उत्रनेछौं।’
ह्याट्रिक नायिका मीनाले पनि बंगलादेशविरुद्धको खेललाई 'एकढिक्का भएर खेल्नुपर्ने अवसर' भनेर व्याख्या गरिन्।
अब सबैको ध्यान सोमबारको निर्णायक खेलमा केन्द्रित छ। नेपालले उपाधिको ढोका खोल्न जित निकाल्नै पर्नेछ भने घरेलु टोली बंगलादेश बराबरीसँगै च्याम्पियन बन्नेछ।