काठमाडौँ-देशभर जारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागले आगामी दिनहरूमा अझै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, "वर्तमान मौसमको अवस्था र सम्भावित प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरू, उद्धार टोलिहरू तथा सरकारी संयन्त्र पूर्णरूपमा सतर्क रहनुपर्ने आवश्यकता छ।"
मौसम विभागका अनुसार साउन ५ देखि साउन ७ सम्म देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी गण्डकी, बागमती, कोशी र कर्णाली प्रदेशका पहाडी र हिमाली भेगमा बाढी, पहिरो तथा सडक अबरुद्ध हुने खतरा उच्च रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै भनेका छन्, "यात्रा गर्नैपर्ने अवस्था नपरेसम्म घरबाहिर ननिस्कनुहोस्। नदी किनार र पहिरो सम्भावित क्षेत्रबाट टाढा रहनुहोस्। सम्भव भएसम्म सुरक्षित स्थानमा बस्नु नै अहिलेको उत्तम उपाय हो।"
सुरक्षाकर्मीहरूलाई तत्काल उद्दार र राहत कार्यका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ। गृह मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन र पूर्वतयारीका लागि निर्देशन दिइसकिएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले पनि जनतालाई सावधानी अपनाउन र आपतकालीन अवस्थाको खण्डमा स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गरेको छ।
🔴 सुझावहरू नागरिकका लागि:
-
अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्
-
नदी तथा खोलानालाबाट टाढा रहनुहोस्
-
पहिरो तथा भू–स्खलन सम्भावित क्षेत्रबाट सुरक्षित स्थानतर्फ सर्नुहोस्
-
सरकारी सूचनाहरू नियमित रूपमा सुन्नुहोस्
देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनाहरू पहिले नै देखिन थालेका छन्। विगत केही दिनयता गण्डकी र कर्णाली प्रदेशमा पहिरोका कारण सडक अवरुद्ध भएका घटनाहरू सार्वजनिक भइसकेका छन्।
सरकारले सबै तहका निकायलाई समन्वयमा रहन आग्रह गरेको छ भने नागरिकस्तरमा पनि उच्च सतर्कता आवश्यक रहेको प्रस्ट पारेको छ।