काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति परियान्तर्गत काठमाडौँ उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको स्थलगत निरीक्षण गरेका छन्।
आइतबार राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग हुँदै सुवर्ण शमशेर सडकसम्मको क्षेत्रलाई समेट्ने आकस्मिक अनुगमन गरेका थिए। उनले मेलम्ची परियोजनाको कार्य प्रगति बारे प्रत्यक्ष जानकारी लिँदै पाइपलाइन परीक्षण (प्रेसर टेष्ट) शीघ्र सम्पन्न गरी पानी वितरण प्रक्रिया सुरु गर्न निर्देशन दिए।
बालुवाटार क्षेत्रमा ३१५ मिमि व्यासको प्राइमरी पाइपलाइन र २८० मिमि व्यासको एचडीपीई पाइप ‘तेर्सो दिशात्मक ड्रिलिङ (एचडीडी)’ प्रविधिबाट सफलतापूर्वक जडान गरिएको मन्त्री यादवले जानकारी दिए।
उनका अनुसार बालुवाटारसहित नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग र सुवर्ण शमशेर सडक क्षेत्रका पाइपलाइन बिछ्याउने कार्य पूर्ण भएको छ र परीक्षणपछि छिट्टै पानी आपूर्ति थालिनेछ।
परियोजना कार्यान्वयन निर्देशनालय (PID) प्रमुख लक्ष्मी उपाध्यायले हाल पाइपलाइनको दबाव परीक्षण तयारीको अन्तिम चरणमा रहेको र सफल परीक्षणपछि DMA H2, I3, I4, र I5 अन्तर्गतका क्षेत्रमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने बताए।
आपूर्ति शुरू भएपछि करिब ३,५०० घरधुरीले प्रत्यक्ष लाभ पाउनेछन्।
परियोजना प्रबन्धक अमित रञ्जितका अनुसार मेलम्ची खानेपानी आपूर्ति प्रणाली उपत्यकावासीलाई दीर्घकालीन रूपमा स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको हो।