ओलीको स्पष्ट सन्देश: "पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण हुँदैन, सम्मानपूर्वक बस्नुपर्छ"
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता नवीकरण नहुने स्पष्ट रुपमा बताएका छन्। आइतबार ललितपुरस्थित पार्टी कार्यालय, च्यासलमा भएको भेटवार्तामा ओलीले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा सम्मानपूर्वक बस्न सुझाव दिएका हुन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, यो भेट भण्डारीकै आग्रहमा तय गरिएको थियो। उनले बिहान ओलीलाई फोन गरी भेटको प्रस्ताव राखेपछि सुरूमा बालुवाटारमा भेट्ने भनिए पनि अन्ततः च्यासलस्थित पार्टी कार्यालयमा संवाद भएको हो।
भेटका क्रममा भण्डारीले एमाले सदस्यता नवीकरणबारे जिज्ञासा राखेकी थिइन्। जवाफमा ओलीले “यो कुनै व्यक्तिगत प्रक्रिया होइन, संविधान र प्रणालीसँग जोडिएको विषय हो। एकपटक राष्ट्रपतिका हैसियतमा बसेको व्यक्तिले सक्रिय राजनीतिमा फर्किन मिल्दैन,” भन्दै उनको सदस्यता नवीकरण अस्वीकार गरे।
भण्डारीले 'मेरो भूमिका के हुन्छ?' भनी सोध्दा ओलीले “पूर्वराष्ट्रपतिको हैसियतमा सम्मानपूर्वक बस्ने हो” भनेर उत्तर दिएको स्रोतले जनाएको छ।
पार्टीभित्र पनि भण्डारी पक्ष कमजोर
एमालेको सचिवालय र पोलिटब्युरोमा भण्डारीको पक्षमा खुलेर बोल्ने नेताहरूको संख्या निकै कम देखिएको छ। सचिवालयमा मात्र ६ जना र पोलिटब्युरोमा झन् थोरै नेताहरूले उनलाई समर्थन जनाएका थिए। यस्तो अवस्था देखेपछि भण्डारी पक्षले सुलहको प्रयास थालेको स्रोतहरू बताउँछन्।
भण्डारीनिकट नेताहरूले बहुमत ओली पक्षमा देखिएपछि 'अब एकता खोज्नुपर्छ' भन्ने निष्कर्षमा पुगेका छन्। केन्द्रीय कमिटी बैठकअघि नै छलफल भएको र एकताको सन्देश दिन ओली–भण्डारी भेट भएको उनीहरूले बताएका छन्।
वरिष्ठ नेताहरूको चासो
यसबीच, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरू पनि आइतबार बालुवाटार पुगेका थिए। पोखरेलले नयाँ विधानबाट वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्तावमा असन्तुष्टि जनाएका थिए। जवाफमा ओलीले '७० वर्ष उमेर पुगिसकेको व्यक्ति उमेर सिमा समर्थन गर्छ भने अरूको पदको चिन्ता किन?' भनेर टिप्पणी गरेका थिए।
भण्डारीको संक्षिप्त प्रतिक्रिया
भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै भण्डारीले “ओलीसँग राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल भयो” मात्र भनिन्। सदस्यता नवीकरणबारे सोध्दा उनले स्पष्ट जवाफ नदिई ‘पहिल्यै सकिएको कुरा हो’ भनेर टारिन्।