सिन्धुली– सिन्धुलीगढी क्षेत्रको चर्चित ‘सेल्फिडाँडा’ को नाम परिवर्तन गरेर ‘गढी डाँडा’ राखिएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। कमलामाई नगरपालिका–२ अन्तर्गत विपि राजमार्ग नजिक रहेको यो पर्यटकीय स्थानलाई नेपाली सेनाको पहलमा नयाँ नाम दिइएपछि सामाजिक सञ्जालदेखि स्थानीय जमातसम्म व्यापक असन्तोष देखिएको छ।
यो नामाकरण नेपाली सेनाको भवानी बक्स गणले ऐतिहासिक सिन्धुलीगढी युद्ध झल्काउने कला र भित्ते लेखनसहितको संरचना निर्माण गर्दै गरेको हो। नगरपालिकाको आर्थिक सहयोगमा साउन ३ गते अनावरण गरिएको उक्त शालिकमा 'गढी डाँडा' भनेर उल्लेख गरिएको छ। तर, स्थानको पुरानोपन, स्थानीय पहिचान र जनताको सहमति बिना गरिएको नाम परिवर्तनप्रति स्थानीय विरोधमा उत्रिएका छन्।
“नाम सेनाले राख्ने हो र?” – भन्दै पर्यावरण संरक्षणकर्मी सौरभ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, “यो त इतिहास हेरेर, स्थानीयको भावना बुझेर मात्र राख्नुपर्ने हो। पालिकाले जबर्जस्ती गरेको छ।”
स्थानीय शिक्षक प्रेम आचार्यले समेत फेसबूकमा व्यंग्यात्मक रूपमा लेखेका छन्, “अब कुलोबाँधको अगाडिबाटै सबैलाई ‘गढी’ भनौं, जस्तो कि रानी दरवार भनियो। आखिर हामी मनगढन्ते नामकै देश हौं।”
त्यस्तै, सामाजिक अभियन्ता भीम विक्रम गोदार थापा लेख्छन्, “इतिहासलाई तोडमोड गरेर राखिएको नाम दीर्घकालीन असमझदारीको कारक बन्छ। स्थानीय बौद्धिक समुदायको सहभागितामा मात्र यस्ता निर्णय हुनुपर्छ।”
यो पहिलोपटक होइन, जब सेनाले नामाकरण गर्दा स्थानीयको विरोध भएको हो। यसअघि चियाबारीदेखि सिन्धुलीगढीसम्मको पदमार्गलाई ‘किनलक मार्ग’ नाम दिँदा पनि उस्तै असन्तुष्टि देखिएको थियो।
स्थानीयको माग छ – स्थानको मौलिकता, इतिहास र पहिचान नबिर्सिने गरी सार्वजनिक सुनुवाइको माध्यमबाट मात्र नामाकरण गरियोस्। अन्यथा यो कदम सिन्धुलीगढी क्षेत्रको पर्यटन विकासभन्दा विवादको कारण बन्ने खतरा रहेको उनीहरूको भनाइ छ।
अब पालिका र सेनाको तर्फबाट यसबारे स्पष्टीकरण आउने कुरामा चासो बढेको छ। स्थानीयले भने, “सेल्फिडाँडा हाम्रो परिचय हो, त्यसलाई मेटाउने अधिकार कसैलाई छैन।”