पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनः प्रवेश गर्ने निर्णयलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहज रूपमा स्वीकार गरेनन। आइतबार च्यासलमा भएको करिब १ घण्टा ४० मिनेटको वान टु वान वार्तामा ओलीले विद्यालाई पूर्वराष्ट्रपतिको हैसियतमै सम्मानपूर्वक रहने सुझाव दिएका थिए।
भेटमा ओलीले पार्टी सदस्यता र जिम्मेवारीको विषयलाई लिएर स्पष्ट रूपमा विद्याको पुनरागमन सहज नहुने संकेत दिएका थिए। उनका अनुसार, सदस्यता त्यागी १० वर्ष पार्टी बाहिर गएकाले पुन: सदस्यता नवीकरण प्राविधिकरूपमा मान्य नहुने बताइएको छ।
तर विद्याले भने आफू पहिले नै सल्लाह अनुसार अघि बढिसकेको, अब फर्कने अवस्था नरहेको जवाफ दिएकी छन्। उनले एमालेको पछिल्लो निर्णयहरूमा आफूलाई हेपिएको महसुस गर्दै, अपमानजनक टिप्पणीप्रति पनि असन्तुष्टि जनाएकी छन्।
भण्डारी पक्षले सदस्यता नवीकरण पहिले नै भएको दाबी गर्दै प्रमाण (रसिद) रहेको बताएको छ भने ओली पक्षले प्रक्रियागत त्रुटिको कुरा उठाएको छ। यस विषयमा अझै पनि विवाद कायम छ।
आज सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीसँगको वार्ताबारे नेताहरूलाई जानकारी दिने कार्यक्रम रहेको छ।
विद्या भण्डारी हाल मदन भण्डारी फाउण्डेशनमार्फत् सक्रिय राजनीति तथा अभियानमा जुटिसकेकी छन्। उनका समर्थकहरू भने विद्यालाई पार्टी नेतृत्वमा ल्याउन अभियान नै चलाइरहेका छन्।
एमालेभित्र यो घटनाक्रमले नेतृत्वको दिशाबारे नयाँ बहस सुरु गराएको छ।