काठमाडौं, साउन ५ –“कोही पनि रगत अभावका कारण ज्यान गुमाउन नपरोस्” भन्ने उद्देश्यसहित स्थापित संस्था ब्लड फर नेपालले आफ्नो सातौं वार्षिकोत्सव मनाउँदैछ।
सन् २०१७ मा धनुषाका सरोज कुमार महतोले स्थापना गरेको यस संस्थाले अहिलेसम्म २५,३८२ जनालाई रगत व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुर्याएको छ।
रक्तदान, स्वास्थ्य शिविर, रगत परीक्षण देखि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै संस्था अहिले देशभर सक्रिय छ।
संस्थाका सचिवका अनुसार ४,३९३ जना रक्तदातालाई परिचालन गरिँदा ६,९८२ पिन्ट रगत संकलन गरी रक्तसञ्चार केन्द्रहरूलाई हस्तान्तरण गरिएको छ।
‘रक्तका कुरा’ कार्यक्रमबाट १ लाख ३५ हजारभन्दा बढी मानिसमा प्रत्यक्ष प्रभाव परेको छ भने स्वास्थ्य अभियानअन्तर्गत रगत समूह, मधुमेह परीक्षण, मास्क र जीवनजल वितरणसमेत गरिएको छ।
कोषाध्यक्ष अर्चना झाका अनुसार आर्थिक अभाव अझै चुनौती छ, तर सहकार्यको अपेक्षा बढिरहेको छ।
संस्थाले युवाहरूलाई सहभागी गराउन कलेज प्रतिनिधि, एसोसिएट र आजीवन सदस्यता सुरु गरेको छ।
संस्थापक सरोज महतो भन्छन्, “अझ धेरै काम गर्न बाँकी छ, सबैको साथबिना यो सम्भव थिएन। आउनुहोस्, सँगै रक्तसंवेदनशीलता फैलाऔं।”
ब्लड फर नेपालले सात वर्षको सेवायात्रामा समर्पण, उत्तरदायित्व र युवाको सक्रियतामार्फत देशको रक्त व्यवस्थापन प्रणालीमा दिगो योगदान पुर्याउँदै आएको छ।