काठमाडौँ :अध्यागमन प्रणालीमा सुधारको लक्ष्यसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ४५ जना नयाँ शाखा अधिकृत खटाइएको छ। गृह मन्त्रालयको नेतृत्वमा भएको यो कदमलाई अध्यागमन सेवामा पारदर्शिता, उत्तरदायित्व र दक्षता कायम गर्न ऐतिहासिक पहलको रूपमा हेरिएको छ।
गृह मन्त्रालयले लोकसेवा आयोगबाट हालै उत्तीर्ण भएका शाखा अधिकृतहरूलाई तीन दिने विशेष तालिम प्रदान गरी आजदेखि विमानस्थलमा कार्यारम्भ गराएको हो। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार यी अधिकृतहरू अध्यागमन सेवा सुधार र यात्रुहरूको सहजरूपमा प्रक्रिया सम्पन्न गर्न विशेष जिम्मेवारीसाथ खटिएका छन्।
यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रवक्ता तथा अनुभवी सहसचिव नरहरि घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालयको नेतृत्व सम्हाल्दै प्रमुखका रूपमा हाजिर भइसकेका छन्।
गृह मन्त्रालयका अनुसार, नयाँ अधिकृतहरू खटिएपछि अध्यागमनको कार्यशैलीमा पारदर्शिता, सेवा छिटोछरितो बनाउने र यात्रु अनुकूल प्रविधि उपयोगको कार्य अघि बढ्ने अपेक्षा गरिएको छ। यता, मन्त्रालयले दरबन्दी मिलानअनुसार अधिकारीहरूको व्यवस्थापन गरिने जानकारी पनि दिएको छ।
यसबीच, अध्यागमन र भिजिट भिसासम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिसकेको छ। सो समितिले अध्यागमन सुधारका लागि कानुनी, नीतिगत र संरचनागत सुझावहरू तयार गरिरहेको छ।
नयाँ अधिकृतहरूको आगमनसँगै त्रिभुवन विमानस्थलको अध्यागमन सेवा नयाँ चरणमा प्रवेश गरेको छ, जसले नेपालको अन्तरराष्ट्रिय छवि र यात्रु सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।