काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न स्पष्ट चेतावनी दिएका छन्।
पार्टीको नवौँ केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले हालसम्म आफ्नो कुनै राजनीतिक धारणा नदिएको भन्दै अरूलाई उनको तर्फबाट बोलेर भ्रम सिर्जना नगर्न आग्रह गरे।
ओलीले केही नेताहरू, विशेष गरी चुनावमा पराजित भएका नेताहरू भण्डारीको पछि लाग्ने गरेकोप्रति असन्तोष व्यक्त गरे। एक नेताका अनुसार ओलीले बैठकमा भने, “जता जाँदा पनि पछ्याउनुपर्ने? चुनाव हारेका नेताहरूले भण्डारीको पछि लाग्नुपर्ने? यसरी हुँदैन।”
ओलीले पूर्वराष्ट्रपतिसँग बालुवाटारमा भेट भएको स्वीकार गर्दै भने, “विद्याजीलाई बालुवाटार बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो, त्यसैले च्यासलमा भेटियो।” उनले पूर्व प्रधानमन्त्री र पूर्व राष्ट्रपति बीचको सामान्य भेटलाई अनावश्यक रुपमा ठूलाे विषय बनाइएको भन्दै आपत्ति जनाए।
अध्यक्ष ओलीले थप स्पष्ट पार्दै भने, “विद्याजीले अहिलेसम्म आफू के गर्न खोजिरहनुभएको छ भनेर केही भन्नुभएको छैन। यस्तो अवस्थामा कोही उहाँको प्रवक्ता बन्न खोज्नु उचित होइन।”
उनले पार्टीभित्र अस्वस्थ गतिविधिहरूलाई बढावा दिन नदिने पनि बताए। बैठकमा मौखिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले एमालेका आन्दोलनहरू सधैं चुनौतिपूर्ण रहेको तर पार्टीले हिम्मतपूर्वक अगाडि बढ्ने प्रतिबद्धता जनाए।