सोलुखुम्बु, – सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोसी गाउँपालिका–२ र ४ जोड्ने दुधकोसी नदीमा बाढीका कारण नदी थुनिँदा जलप्रलयको सम्भावना बढेको छ। तर, तीन दिन बितिसक्दा समेत सम्बन्धित सरकारी संयन्त्रको चासो नदेखिएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले गम्भीर असन्तोष जनाएका छन्।
सिखु खोलाबाट आएको बाढीले निर्माणाधीन मोटरेबल पक्की पुलमा ढुंगा, माटो र लेदो थुपारिँदा दुधकोसी नदीको बहाव अवरुद्ध भएको हो। यसका कारण अहिले नदी करिब एक किलोमिटरसम्म थुनिएको छ। शनिबारको थप बाढीले पुल संरचना झन् क्षतिग्रस्त बनाएको छ। पुल पुरिएर पानी सतहमाथि उठेपछि अहिले पुलमाथिबाटै नदी बगिरहेको अवस्था छ।
थुलुङ दुधकोसी–२ का वडाध्यक्ष युजन बस्नेतका अनुसार नदी थुनिएको क्षेत्र क्रमशः फैलिंदै गएको छ। सुरुवातमा २००–३०० मिटर क्षेत्र मात्र पानीले भरिएको थियो भने अहिले करिब एक किलोमिटरसम्मको क्षेत्र ताल झैँ बनेको छ। उनले भने, “सिखु खोलाबाट बगाएका ढुंगाहरूले दुधकोसी नै बाँध बनेजस्तो देखिएको छ।”
यस घटनाले सोलुखोला–दुधकोसी ८६ मेगावाटको जलविद्युत आयोजनालाई समेत जोखिममा पारेको छ। पावरहाउस क्षेत्र पानीको सतहमाथि उठेको र थप बाढी आएमा ठुलो क्षति हुन सक्ने बताइएको छ।
प्रदेशसभा सदस्य गम्बु शेर्पाले घटनास्थल निरीक्षणपछि पुलको संरचना र आसपासको क्षेत्र गम्भीर जोखिममा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। उनले भने, “थप वर्षा वा बाढी आयो भने ठूलो विपत्ति आउन सक्छ।”
यद्यपि गाउँपालिका अध्यक्ष असिम राईले तत्कालका लागि ठूलो खतरा नरहेको दाबी गरे। उनले भने, “प्राविधिक टोली निरीक्षणमा छन्, पानी साइडबाट बगिरहेको छ। सावधानी आवश्यक छ, तर स्थिति नियन्त्रणमै छ।”
२०७६ सालदेखि सुरु भएको पक्की पुल निर्माण प्रदेश सरकारको १५ करोड बजेटअन्तर्गतको बहुवर्षीय योजना भएपनि बजेट अभावले निर्माण अधुरो रहेको थियो। अहिले उक्त अधुरो संरचनामा बाढीले थप क्षति पुर्याएको छ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले तत्काल जोखिम मूल्यांकन गर्न, नदीको बहाव पुनः व्यवस्थापन गर्न तथा दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूको आरोप छ, “पुल पुरिएर नदी थुनिएको जस्तो गम्भीर विषयलाई समेत सरकारी संयन्त्रले सामान्य रूपमा लिएको छ।”
यदि तुरुन्तै ध्यान नदिइयो भने बाढीले खेतीयोग्य जमिन, अधुरा पूर्वाधार तथा जलविद्युत आयोजना सबैमा गम्भीर क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ।.webp)