काठमाडौं — नेपाली चलचित्र *‘अभिमन्यु : च्याप्टर १’*को मोसन टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मङ्गलबार उक्त टिजर सार्वजनिक गरेको हो।
मोसन टिजरमा पैसाको लागि हुने संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। चलचित्र भदौ २७ गते नेपालभर प्रदर्शनमा आउने छ भने यसको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
फिल्मले पैसाको मोहमा जटिल चक्रव्यूहमा फसेको एक व्यक्तिको कथा बोल्छ, जो त्यहाँबाट उम्किन संघर्ष गरिरहेको हुन्छ। अहिले फिल्म पोस्ट–प्रोडक्सनको चरणमा छ।
चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा देखिनेछन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र सुशान्त गौतमको निर्देशनमा बनेको हो, जसले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन्। फिल्मको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर रहेका यस फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, र सरोज श्रेष्ठ निर्माण नियन्त्रकका रूपमा संलग्न छन्। फिल्मको छायांकन शरद महतोले गरेका छन्।