रुकुम पूर्व, साउन ७ – रुकुम पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको छ भने अन्य दुई गम्भीर अवस्थामा छन्।
मृत्यु हुनेमा तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विक रहेका छन्। योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
उक्त च्याउ यही साउन २ गते जंगलबाट ल्याइएको थियो। सेवनपश्चात सबैजना विरामी परे पनि साउन ५ गते मात्र उनीहरू अस्पताल पुगेका थिए। रुकुम पूर्व अस्पतालमा प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि साउन ६ गते सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको थियो।
गम्भीर अवस्थामा रहेकी मृतकहरूको आमा ३५ वर्षीया रामकुमारी सुनार र नौ वर्षीया छोरी आयुषा विकलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रेफर गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार, जङ्गलबाट ल्याइएका च्याउहरूबीच विषालु र खाने योग्य च्याउ छुट्याउन कठिन हुने भएकाले सतर्कता आवश्यक छ। हरेक वर्ष यस्ता घटनाबाट मृत्यु हुने क्रम नरोकिएको भन्दै स्थानिय तहमा चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइएको छ।
स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह
यस घटनापछि स्थानीय प्रशासनले जङ्गली च्याउ सेवन गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। हरेक वर्ष जङ्गली च्याउ खाँदा यस्तै प्रकारका दु:खद घटना दोहोरिने गरेको हुँदा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूले सामुदायिक जागरणमा जोड दिनुपर्ने देखिएको छ।