काठमाडौं, साउन – काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीहरू माथि धरपकड गरेको भन्दै व्यवसायीहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्। शनिबार कवाडी व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा गएका प्रतिनिधिमण्डलले गृहमन्त्रीलाई भेटेर महानगरको ‘ज्यादती’ तत्काल रोक्न माग गरेका हुन्।
ज्ञापनपत्रमा व्यवसायीहरूले आफूहरूले देशको प्रचलित कानुनअनुसार व्यवसाय गर्दै आएको र करसमेत नियमित रूपमा तिर्दै आएको उल्लेख गरेका छन्। उनीहरूका अनुसार कवाड व्यवसायले स्टील, कागज, प्लास्टिक, मदिराजन्य उद्योगहरूलाई कच्चा पदार्थ आपूर्ति गर्दै आएको छ भने देशको व्यापार घाटा कम गर्नसमेत सहयोग पुग्दै आएको छ।
“देशभर एक लाख मानिस यो व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न छन्,” ज्ञापनपत्रमा भनिएको छ, “वातावरणीय सरसफाइमा पनि कवाडी व्यवसायको ठूलो भूमिका छ।”
व्यवसायीहरूले काठमाडौं महानगरपालिकामाथि पछिल्लो दुई वर्षदेखि प्रहरी परिचालन गरेर कवाड व्यवसायी र मजदुरहरूमाथि कुटपिट, अपहरण र सामाग्री जफतजस्ता क्रियाकलाप गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार, महानगरको हस्तक्षेपका कारण धेरै व्यवसायी र संकलक घाइते भएका छन् र अङ्गभङ्गसम्म भएको छ।
मेयर बालेन्द्र शाहमाथि लक्षित गर्दै व्यवसायीहरूले काठमाडौंबाट ‘गरिब र गरिखाने वर्गलाई हटाउने रणनीति’ अपनाइएको आरोप समेत लगाएका छन्।
गृहमन्त्री लेखकले ज्ञापनपत्र ग्रहण गर्दै आवश्यक अध्ययन र संवादको माध्यमबाट समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेका छन्।