काठमाडौं, साउन ११ ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित गणेश मन्दिर परिसरमा आयोजित बृहत वनभोज कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ। काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आएका सिन्धुपाल्चोकका माओवादी नेता, कार्यकर्ता, शुभचिन्तक र युवा विद्यार्थीबीच आपसी भेटघाट, अन्तरक्रिया र सञ्जाल विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध), बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल (शरद), प्रदेश सांसद सरल सहयात्री, अमृता नेपाल, जिल्ला इञ्चार्ज केशव नेपाल, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिवेक), वाईसिएल फ्याक्सन इञ्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) लगायत सयौं नेताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता जयराम आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथि पार्टी उपमहासचिव मार्तका प्रसाद यादव रहनुभएको थियो। कार्यक्रममा यादवले सिन्धुपाल्चोकको जनयुद्धकालीन योगदानको चर्चा गर्दै पार्टी पुनर्गठनमा जिल्लाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राजनीतिक मन्तव्यभन्दा बढी मनोरञ्जन र आपसी संवादलाई प्राथमिकता दिइएको थियो। म्युजिकल चेयर, दोहोरी, सेलो, लोकसंगीत जस्ता आकर्षक प्रस्तुति तथा खेलकुद कार्यक्रमले उपस्थित १००० भन्दा बढी सहभागीलाई मनोरञ्जन दिएका थिए। गायिका कामना ओली, सन्दिप लोहनी र ज्ञानसिं वाइबाको टोलीले साँगीतिक माहोल तताएका थिए।
कार्यक्रम व्यवस्थापनमा देवराज बस्नेत, गोकुल दंगाल, सुवास लामा, महेशलाल श्रेष्ठ, सुदर्शन लम्साल, डि.बि. पराजुली लगायतका दर्जनौं कार्यकर्ताको सक्रियता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले संगठनमा एकता, ऊर्जा र उद्देश्य थप्ने भएकाले यसलाई वार्षिक परम्पराका रूपमा निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।