ताराखोला गाउँपालिका–३ स्थित हिल बराहखोलामा लामो समयदेखि अधुरो रहेको डोप्टा–बराहखोला मोटरबाटो निर्माण कार्य स्थानीयको पहलमा पुनः तीव्र भएको छ। "आफ्नो गाउँ आफैं बनाऔं" भन्ने नारासहित स्थानीयहरूले आर्थिक संकलन सुरु गरेका छन्।
करिब १० वर्षअघि ट्र्याक खोल्ने काम सुरु भए पनि चेवटको भिर खण्ड अझै अपूरो छ। स्थानिय पुर्णलाल ढकालका अनुसार चेवटको भिर जस्तो अप्ठ्यारो ठाउँ पार गर्नु परेकाले समय र खर्च धेरै लागेको हो। डोप्टादेखि चेवट र बराहखोलादेखि चेवटसम्मको साढे २ किलोमिटर सडक तीन वर्षअघि निर्माण भए पनि चेवटको भिर खण्ड अहिलेसम्म अपूरो छ।
ताराखोला गाउँपालिकाबाट ट्र्याक खोल्ने बेलादेखि हालसम्म एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको स्थानीय दुर्गा बहादुर बगालेले जानकारी दिनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाबाट ३० लाख, गण्डकी प्रदेशबाट २० लाख र स्थानीय स्रोतबाट २५ लाख संकलन गरी निर्माण कार्य अगाडि बढाइएको थियो।
बगालेका अनुसार चेवटको भिर खण्डमा अझै १०० मिटर जति पहरा काट्न बाँकी छ, जसका लागि २०–३० मिटर गहिराइमा कटान गर्नुपर्ने भएकाले झन्डै ५० लाख रुपैयाँ थप बजेट आवश्यक पर्छ।
निर्माण समिति संयोजक खडक बहादुर नाउसाका अनुसार लामो समयसम्म अधुरो सडक जोडिन नसकेपछि स्थानीय संघ–संस्थाहरू र व्यक्तिहरूले स्वस्फूर्त रुपमा आर्थिक सहयोग गर्न थालेका हुन्। यस आर्थिक वर्षभित्र सडक पूर्ण रूपमा निर्माण गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो।
वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष प्रेम बहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट सो मोटरबाटो तथा अन्य स्थानमा ट्र्याक खोल्नका लागि विनियोजन गरिएको छ।
स्थानीय, प्रदेश र संघीय तहको सहकार्यसँगै जनसहभागिताले यो अधुरो मोटरबाटो अबको केही महिनाभित्र पूर्ण हुने विश्वास गरिएको छ।