सङ्खुवासभा, मकालु —सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–६, बास्थला गाउँमाथि अवस्थित माङ्मा पोखरी प्रचारप्रसारको अभावमा गुमनाम बनेको छ। घना जङ्गलको बीचमा, विशाल ढुङ्गाको मुटुमै रहेको यो पोखरी प्राकृतिक रहस्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनाले भरिएको छ।
झन्डै ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइ भएको पोखरीको विशेषता के भने—यो वर्षैभरि कहिल्यै सुक्दैन। यही कारण, स्थानीयहरू यसलाई ‘दैवी देन’ मान्दै आएका छन्।
दैवी आस्थाको केन्द्र
स्थानीय कुबेर राईका अनुसार पोखरीमा साक्षात देवताको बास रहेको विश्वास गरिन्छ। राई, कुलुङ र मेवाहाङ समुदायको लागि यो आस्थाको केन्द्र हो। विशेषगरी मबहान पर्वमा यहाँ विशेष पूजाआजा गरिन्छ।
‘यहाँ हामी धूपबत्ती बाल्छौँ, प्रसाद चढाउँछौँ,’ स्थानीय बज्रमान राई भन्छन्, ‘नागदेवताको बास रहेको मान्यताको कारण कुनै बलि वा हिंसात्मक कर्म निषेध गरिएको छ।’
धार्मिक र पर्यटकीय सम्भावना
स्थानीय अगुवा धनराज राईका अनुसार पोखरीसम्म पुग्ने बाटो हालै जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत मर्मत गरिएको छ। श्रद्धालु र पर्यटकका लागि प्रतीक्षालयसमेत बनाइएको छ।
‘अब हाम्रो लक्ष्य पोखरी नजिकै व्यवस्थित मन्दिर निर्माण गर्नु हो,’ उनले बताए।
अविकसित सम्भावना
माङ्मा पोखरीजस्ता प्राकृतिक चमत्कार र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्न सके मकालु क्षेत्रले नयाँ पर्यटकीय परिचय पाउने देखिन्छ। स्थानीय तह र प्रदेश सरकारले दीर्घकालीन योजना बनाउने हो भने यो पोखरी सङ्खुवासभाको प्रमुख गन्तव्य बन्न सक्छ।