दोधारा चाँदनी, कञ्चनपुर — सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ (बङ्गाल टाइगर) को संरक्षण तथा अवलोकनका लागि प्रसिद्ध गन्तव्य बन्दै गएको छ। करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जले सीमित क्षेत्रफल हुँदाहुँदै पनि उल्लेखनीय संख्यामा पाटेबाघ संरक्षण गर्न सफल भएको छ।
निकुञ्जका अनुसार हाल शुक्लाफाँटामा ४४ वटा पाटेबाघ रहेका छन्। सन् २०१३ मा १७ वटा मात्रै रहेका बाघको संख्या सन् २०२२ मा ३६ पुगेको थियो भने पछिल्लो क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार हाल २४ भाले, १७ पोथी र थप विश्लेषणमा आधारित ३ बाघ गरी जम्मा ४४ बाघ रहेको पुष्टि भएको हो।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार बाघको संख्या वृद्धिको मुख्य कारण पर्याप्त आहारा, सुरक्षित बासस्थान, जलस्रोत र प्रभावकारी कोर क्षेत्र व्यवस्थापन हो। निकुञ्जभित्र करिब १०० वटा प्राकृतिक तथा कृत्रिम ताल, चौधर, स्याली र महाकाली नदीजस्ता जलस्रोतहरू उपलब्ध छन् जसले वन्यजन्तुको प्यास मेटाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
शुक्लाफाँटा बाह्रसिङ्गा (स्वाम्भर जातका मृग) को झुण्ड देख्न सकिने विश्वका दुर्लभ थलोहरूमध्ये एक हो। निकुञ्जमा हाल २,३२३ भन्दा बढी बाह्रसिङ्गा छन्, जुन बाघको प्रमुख आहाराका रूपमा रहेको प्रजाति हो। यसबाहेक चित्तल, रतुवा र बँदेलजस्ता जनावरहरू पनि बाघको आहारामा पर्छन्।
निकुञ्जभित्र रहेको ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालले यहाँको जैविक विविधतालाई थप समृद्ध बनाएका छन्। वाग्लेले भने, “शुक्लाफाँटा जैविक विविधता, दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि महत्वपूर्ण स्थान हो, तर प्रचारप्रसार र पूर्वाधारको अभावले पर्यटक आकर्षणमा चुनौती छ।”
पर्यटक आगमनमा सुस्तताको प्रमुख कारणका रूपमा उनले हवाई भाडा महँगो हुनु, सीमावर्ती नाकामा असहजता, पर्याप्त टुरप्याकेजको अभाव र निजी क्षेत्रको लगानी नहुनु रहेको बताए। “विदेशी पर्यटक प्राकृतिक सौन्दर्यको खोजीमा यहाँ आउन चाहन्छन्, तर व्यवस्थापन अभावले उनीहरू चितवन र पोखरातिरै सीमित हुने गरेका छन्,” उनले भने।
सूचना अधिकारी वाग्लेले शुक्लाफाँटामा विशेष गरी भारतीय पर्यटक भित्र्याउने ठूलो सम्भावना रहेको उल्लेख गर्दै सीमावर्ती नाकामा सहजता, निजी क्षेत्रको लगानी तथा पर्यटकीय टुरप्याकेज निर्माणका लागि पहल आवश्यक रहेको बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालकै मात्र होइन, विश्वमै जैविक विविधताको अध्ययन, वन्यजन्तु अवलोकन र संरक्षणको दृष्टिले महत्वपूर्ण केन्द्र हो। यसको संरक्षणसंगै दिगो पर्यटन प्रवर्द्धन गर्न सकेमा यो क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रवल देखिन्छ।