चितवन, १३ साउन – भरतपुर अस्पतालमा उपचारका लागि आउने हजारौं बिरामी र कुरुवाहरू अनावश्यक स्वास्थ्य जोखिममा परिरहेका छन्। अस्पतालका शौचालयमा साबुन, सेनिटाइजर, र टिश्युजस्ता आवश्यक सरसफाई सामग्रीको अभावले समस्या बढेको छ।
दैनिक करिब ३,००० जना बिरामी र उनीहरूको कम्तीमा एक जना कुरुवा अस्पतालमा आउने हुँदा, अस्पताल परिसरमा दैनिक करिब ६,००० मानिस बसोबास गर्छन्। ती सबैले दैनिक कम्तीमा एकपटक शौचालय प्रयोग गर्दा साबुन नहुँदा हात धुन नसक्नु स्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ।
एक कुरुवाले भने, “ट्वाइलेट प्रयोग गर्दा पानी कहिले आउँछ, कहिले आउँदैन। तर सबैभन्दा समस्या त साबुनको अभाव हो, जसले गर्दा हात सफा गर्न सकिंदैन।”
नेपाल सरकारको ‘स्वास्थ्य संस्था स्वच्छता तथा सरसफाई निर्देशिका, २०७४’ अनुसार अस्पतालका शौचालयमा साबुन, पानी, सेनिटाइजर र महिलाका लागि सेनेटरी प्याड अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर भरतपुर अस्पतालमा यी सामग्रीको नियमित व्यवस्था नभएको पुष्टि भएको छ।
यसैबीच, अस्पतालका कर्मचारीहरू कार्यकक्षमै कम्प्युटरमा फिल्म हेर्ने, सेयर बजारसम्बन्धी काम गर्ने जस्ता गैरजिम्मेवार व्यवहारको पनि सेवाग्राहीहरूबाट गुनासो आएको छ। सेवामा ढिलाइ र बेवास्ता बढिरहेको बताइएको छ।
भरतपुर अस्पतालका सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भने, “शौचालयमा आवश्यक सामग्री नहुनु गम्भीर लापरवाही हो। हामीले गुनासोलाई गम्भीर रूपमा लिएर सम्बन्धित विभागलाई निर्देशन दिनेछौं।”
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गोलालले पनि, “सार्वजनिक शौचालयमा साबुन र सेनिटाइजर अनिवार्य रूपमा उपलब्ध गराउनु हाम्रो नीति हो। यस्तो अभाव गम्भीर लापरवाही हो र तत्काल सुधार आवश्यक छ,” भनी स्पष्ट पारे।
अस्पतालमा देखिएको यस्ता लापरवाहीले जनस्वास्थ्यमा जोखिम निम्त्याउने भएकाले छिटो सुधार नहुँदा स्वास्थ्य संकटको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।