काठमाडौँ — नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मुख्य श्रेय पाएका पूर्व कप्तान तथा हालका नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले आत्मनिर्भर क्रिकेट प्रणाली निर्माणमा अवरोध सिर्जना गर्नेहरूप्रति कडा टिप्पणी गरेका छन्।
क्रिकेटको दीर्घकालीन भविष्य सुनिश्चित गर्न आत्मनिर्भर संरचना आवश्यक रहेको उल्लेख गर्दै खड्काले भने, “हामी क्रिकेटलाई आत्मनिर्भर बनाउने प्रयासमा छौँ। यो प्रक्रियामा जसलाई टाउको दुख्छ, उनीहरूले औषधि खाएर ठीक हुनुपर्छ।”
उनको यो अभिव्यक्ति क्रिकेट प्रशासनमा देखिएको राजनीतिक हस्तक्षेप र असहयोगी सोचप्रति लक्षित भएको बुझिएको छ। खड्काले स्पष्ट रूपमा संकेत गरे कि अब नेपाली क्रिकेट बाह्य सहयोगको भर नपरेर आफ्नै खुट्टामा उभिनुपर्ने मोडमा आइपुगेको छ।
पारस खड्काको नेतृत्वमा क्यानले पछिल्ला महिनाहरूमा घरेलु लिगहरू सञ्चालन, पूर्वाधार विकास र खेलाडी अनुशासन जस्ता विषयमा महत्वपूर्ण सुधार ल्याउँदै आएको छ। यद्यपि, भित्री गुटबन्दी र व्यवस्थापनमा देखिएको द्विविधाले उनीहरूलाई चुनौतिपूर्ण मोडमा पु¥याएको छ।
खड्काको भनाइले अब क्यान भित्र असहयोग गर्नेहरूलाई चेतावनी दिइएको स्पष्ट सङ्केत गर्छ। उनले भने, “नेपालले टेस्ट राष्ट्र बन्ने सपना देखिरहेको छ। त्यस्तो अवस्थामा आत्मनिर्भरता हाम्रो पहिलो खुड्किलो हो।”
क्रिकेट समर्थक र विश्लेषकहरूले खड्काको अभिव्यक्तिलाई साहसिक भन्दै समर्थन गरेका छन्। अब भने क्यानले यो आत्मनिर्भर यात्रामा कसरी रणनीति अघि बढाउँछ भन्ने प्रतीक्षा हुनेछ।