काठमाडौं, साउन — ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोडको लगानीमा निर्माण भएको ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। अमेरिकन होटल चेन ‘वेस्ट वेस्टेन प्लस’ले रिसोर्टको व्यवस्थापन गर्ने भएको छ।
रिसोर्ट सञ्चालन समितिका सञ्चालक युवराज श्रेष्ठका अनुसार करिब ६ वर्षअघिदेखि निर्माण सुरु भएको रिसोर्ट आगामी दसैंअगाडि सञ्चालनमा ल्याइनेछ। उनले भने, “पाँचतारे स्तरीय सुविधा दिने गरी रिसोर्ट निर्माण सम्पन्न भएको छ।”
रिसोर्टमा ८३ वटा सुविधासम्पन्न कोठासहित ३ वटा मिटिङ हल, एउटा इन्फिनिटिभ स्वीमिङ पुल, २ वटा रेस्टुरेन्ट, एउटा बोर्डरुम र ३०० भन्दा बढी क्षमताको बैंक्वेट हल रहेको श्रेष्ठले जानकारी दिए।
पर्यटन प्रवर्द्धनमा सहयोग
गोदावरी वरपर हाइकिङ, ट्रेकिङ र धार्मिक पर्यटनमा विस्तार हुँदै गएकाले रिसोर्ट आन्तरिक, भारतीय तथा चिनियाँ पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हो। राजधानी नजिककै प्रमुख गन्तव्य गोदावरीको मौलिकता झल्काउने गरी रिसोर्ट डिजाइन गरिएको श्रेष्ठको भनाइ छ। रिसोर्ट करिब ५८ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ र पूर्णरूपमा पारिवारिक प्रकृतिको हुने बताइएको छ।
सातदोबाटोबाट ९ किलोमिटर दूरीमा रहेको रिसोर्ट नजिकै सरकारले ३ हजार क्षमताको सभाहल पनि निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। रिसोर्ट सञ्चालनमा आएपछि उक्त सभाहलमा हुने कार्यक्रमका सहभागीहरूका लागि बसाइ सुविधाजनक हुने सञ्चालकहरूको विश्वास छ।
संयुक्त लगानी
रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायत लगानीकर्ताहरूको संयुक्त लगानी रहेको छ। गोदावरीमा अवस्थित फूल र हरियालीले पर्यटकहरूलाई आकर्षण गर्ने भएकाले रिसोर्टको भविष्य उज्ज्वल हुने अपेक्षा गरिएको छ।