– अत्तरियाबाट
धनगढीको क्याम्पस चोक अहिले ‘गुरही चोक’को नामले चिनिन्छ। चोकको बीच भागमा ठड्याइएको गुरहीको मूर्ति अब थारु समुदायको सांस्कृतिक पहिचान र प्रकृतिप्रतिको आस्थाको प्रतीक बनेको छ।
गुरही एक सामान्य किराको नाम मात्र होइन। यो किरालाई थारु समुदायले देवताको रूपमा पूज्दै आएका छन्। यही ‘गुरही’को नामबाट चोकको नामकरण हुनु थारु समुदायको वर्षौं लामो सांस्कृतिक संघर्ष र पहिचानको पुनःस्थापनाको एक महत्वपूर्ण खुड्किलो हो।
गुरही पर्वको अवसर पारेर बुधबार औपचारिक रूपमा मूर्तिको अनावरण हुँदैछ। यो अनावरण केवल एक संरचनाको उद्घाटन मात्र होइन, बरु थारु समुदायको प्रकृति–केन्द्रित जीवनशैली, संस्कृति र परम्परालाई उजागर गर्ने अवसर पनि हो।
सखी सञ्जालकी अध्यक्ष उन्नति चौधरीका अनुसार गुरहीको महत्व वैज्ञानिक र सांस्कृतिक दुबै दृष्टिले अत्यन्तै गहिरो छ। “गुरहीले धानबालीमा हानी पुर्याउने किराहरू खाइदिन्छ,” उनले भनिन्, “त्यसैगरी मलेरिया, डेंगु जस्ता रोग सार्ने लामखुट्टे र भुसुनाजस्ता जीवहरू पनि यसका आहार हुन्।”
यसले खेतीपातीको सुरक्षा त गर्छ नै, स्वास्थ्य सुरक्षामा समेत सघाउँछ। यही कारण थारु पुर्खाहरूले गुरहीलाई संरक्षण गर्दै पूजा गर्ने परम्परा बसालेका हुन्।
गुरही चोकको नामकरण र मूर्तिको निर्माण केवल थारु समुदायको गौरव मात्र होइन, सम्पूर्ण समाजलाई प्रकृतिप्रतिको सम्बन्ध र आस्थाको स्मरण गराउने संदेश पनि हो।