दार्चुला — सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपि हिमालसम्म सहज आवतजावत सुनिश्चित गर्न दार्चुलामा पर्यटकीय पदमार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले अपि हिमाल गाउँपालिकाका विभिन्न स्थानहरूमा २१ किलोमिटर लामो पदमार्ग निर्माण गरेको छ।
विभागका सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार यादवका अनुसार आर्थिक वर्ष २०७९/८० मा खाइकोटदेखि अपि हिमालको बेसक्याम्पसम्म १६ किलोमिटर पदमार्ग निर्माण गरिएको हो। उक्त निर्माणमा सिँढी, सोलिङ, पिसिसी ढलान तथा रेलिङसमेत समावेश गरिएको छ। निर्माण लागत पाँच करोड २८ लाख रुपैयाँ रहेको छ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा थप ५.५ किलोमिटर नयाँ पदमार्ग निर्माण गरिएको छ। धनबोरा–घुसा, खाइकोट–थुम्ती र छेती–भिरफाटा खण्डमा पदमार्ग विस्तार गरिएको हो। यस कार्यमा तीन करोड दुई लाख रुपैयाँ खर्च भएको बताइएको छ।
यसअघि नै आठ हजार २८२ खुड्किला रहेको सिद्ध मकरीकोट पदमार्ग निर्माण भइसकेको थियो। पदमार्गको विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ। सन् २०८१/८२ मा मात्र १०३ जना विदेशी र २,७३३ जना स्वदेशी पर्यटकले अपि हिमाल भ्रमण गरेका थिए।
अपि हिमाल गाउँपालिकाले अपि भ्रमण वर्ष–२०८० घोषणा गर्दै पर्यटन प्रवर्द्धनलाई तीव्र बनाएको थियो। गाउँपालिकाका पर्यटन एकाइ प्रमुख बिसनसिंह बुढाथोकीका अनुसार स्थानीयलाई होमस्टे सञ्चालन तथा ट्रेकिङ गाइड तालिमसमेत प्रदान गरिएको छ। हालसम्म ६१ जना महिला र ५ जना पुरुषलाई होमस्टे तालिम, तथा दर्जनौंलाई ट्रेकिङ गाइड तालिम दिइएको छ।
७,१३२ मिटर उचाइको अपि हिमाल अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्दछ। यहाँ हिउँचितुवा, हाब्रे, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालुलगायतका वन्यजन्तु तथा डाँफे, मुनाल, च्याखुरालगायत २०० भन्दा बढी चरा प्रजाति पाइन्छन्। जैविक विविधता, अपि–नाम्पा हिमालको प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यताले यो क्षेत्र साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।