टोक्यो, जापान -रुसको पूर्वी तटमा अवस्थित कामचाट्का प्रायद्वीप नजिकै ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको केही समयपछि जापानका तटीय क्षेत्रमा सुनामी छालहरू देखिएका छन्। जापानी मौसम विज्ञान एजेन्सी (JMA) अनुसार, यो भूकम्पको प्रभावले जापानका प्रशान्त तटीय क्षेत्रहरूमा ३० देखि ४० सेन्टिमिटर अग्ला छालहरू देखापरेका छन्।
बिहान स्थानीय समय अनुसार १०:४६ बजे तोकाची बन्दरगाहमा ४० सेन्टिमिटर उचाइको छाल आएको पुष्टि गरिएको छ भने होक्काइडोको दक्षिणपूर्वी शहर एरिमोमा ३० सेन्टिमिटरको छाल मापन गरिएको जापानी सार्वजनिक प्रसारक NHK ले जनाएको छ। यस्तै, तोहोकु र कान्तो क्षेत्रहरूमा पनि सुनामी छालहरू देखा परेका छन्।
यद्यपि हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै ठूलो रिपोर्ट आएको छैन, जापान मौसम विज्ञान एजेन्सीले थप ठुला छाल आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। एजेन्सीका अनुसार, सुनामी बारम्बार र लामो समयसम्म आउन सक्ने सम्भावना रहेको छ।
यस घटनाका कारण सेन्दाई विमानस्थलको धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको छ। जापानको यातायात मन्त्रालयले प्रभावित तटीय क्षेत्रतर्फ गएका केही विमानहरूको रुट परिवर्तन गरिएको जनाएको छ। साथै, एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्ना वेबसाइटहरूमार्फत ताजा जानकारी लिन सुझाव दिएका छन्।
अमेरिकाको हवाई, गुआम, अलास्का, साथै रुस र जापानका तटीय क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) ले यस भूकम्पलाई हालसम्मकै छैटौं ठूलो भूकम्पको सूचीमा राखेको छ। हवाईमा जोखिममा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी पनि प्राप्त भएको छ।
अधिकारिहरूले समुद्र तट नजिक नजान र आपतकालीन सूचना सुन्न अनुरोध गरेका छन्। स्थिति अनुसार थप अपडेटहरू सार्वजनिक गरिने जनाइएको छ।