काठमाडौँ, साउन १४ — नेपाल–भारत सीमा कार्यदल (Boundary Working Group – BWG) को सातौँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा दुवै देशका प्रतिनिधिहरूले सीमा क्षेत्रको प्राविधिक कार्यका लागि आगामी ३ वर्षे कार्ययोजना पारित गरेका छन्।
सुष्मा स्वराज भवनमा सोमबार र मंगलबार सम्पन्न बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरे भने भारतीय पक्षबाट सर्वेक्षण विभागका प्रमुख हितेश कुमार सहभागी थिए।
बैठकमा पछिल्लो ६ वर्षदेखि रोकिएका प्राविधिक कार्यहरूलाई पुनः सुरु गर्ने सहमति भएको हो। दुवै पक्षले सीमा स्तम्भहरूको निरीक्षण, मर्मत, संरक्षण र नक्सांकन कार्यलाई तीव्र रूपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन्।
नयाँ प्रविधिको प्रयोग गरी कार्यमा प्रगति
बैठकमा सीमासम्बन्धी कार्यहरूमा आधुनिक प्रविधिको प्रयोग गर्दै काम गर्ने सहमति भएको छ। नेपाली टोलीका प्रमुख प्रकाश जोशीले कार्यान्वयन चरणमा प्रवेश गरिने जनाउँदै, "कार्ययोजनाअनुसार फिल्ड वर्क यसै वर्षबाट सुरु हुनेछ," भने।
एसओसी बैठक काठमाडौंमा हुने
बैठकमा सहमति भएका निर्णयहरूलाई फिल्डमा कार्यान्वयन गर्ने जिम्मेवारी सर्भे अफिसियल्स कमिटी (SOC) लाई दिइएको छ। आगामी एसओसी बैठक काठमाडौंमा आयोजना गरिनेछ।
मैत्रीपूर्ण वातावरणमा सम्पन्न बैठक
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। BWG तथा यससँग सम्बन्धित संयन्त्रहरूलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।
२०१९ को बैठकपछिका कार्यहरूको समीक्षा
बैठकमा २०१९ मा देहरादुनमा सम्पन्न छैटौं BWG तथा SOC बैठकपछिका कार्यहरूको समीक्षा गरिएको थियो। त्यसपछि लामो समयसम्म बैठक नबस्दा रोकिएका कार्यहरूलाई तत्काल अघि बढाउने सहमति पनि बैठकमा भएको छ।
एससीओ बैठक अर्को महिनामा
सीमा कार्यान्वयन सम्बन्धी थप छलफलका लागि दुवै देशको सहमतिमा अर्को महिना एससीओ (SOC) बैठक बस्ने तयारी गरिएको छ।
यो सहमति र कार्ययोजनाले नेपाल–भारत सीमा व्यवस्थापनलाई थप स्पष्ट र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।