काठमाडौं,साउन — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल, स्वास्थ्य संस्था र मातहतका निकायसँग जग्गासम्बन्धी विस्तृत विवरण माग गरेको छ।
स्वास्थ्य संस्थाहरुको नाममा रहेको सरकारी जग्गा अतिक्रमण भइरहेको, तर संरक्षणमा प्रभावकारी पहल नदेखिएको गुनासो बढेपछि मन्त्रालयले सात दिनको समयसीमा दिएर सबै निकायलाई विवरण पेस गर्न निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिँदै, मातहतका सबै विभाग, केन्द्र, अस्पताल, प्रयोगशाला तथा सेन्टरहरुको नाममा दर्ता रहेको सम्पत्ति विवरण संकलन गर्न आग्रह गरेका छन्।
मन्त्रालयले पठाएको पत्रमा भनिएको छ,
“तहाँ विभाग/केन्द्र/अस्पताल/प्रयोगशाला/सेन्टरको नाममा कति जग्गा दर्ता कायम छ ? त्यसको उपयोगको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई उपयोग वा लिजमा दिइएको छ वा छैन ? यदि दिइएको छ भने कुन मितिमा, कति क्षेत्रफल, कुन शर्तमा, कसलाई दिइएको हो ? विस्तृत विवरण पठाउनु।”
जग्गा लिजमा दिएको भए त्यसको मिति, क्षेत्रफल, प्रयोगकर्ता र सर्त समेत उल्लेख गर्न भनिएको छ।
मन्त्रालयले ७ दिनभित्र विवरण पठाउन सम्बन्धित निकायलाई पत्र काटिसकेको छ। यसअघि केही संघीय अस्पताल तथा केन्द्रहरुको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको विषयमा सार्वजनिक रूपमा आलोचना हुँदै आएको थियो।