काठमाडौं-कञ्चनपुरको हुलाकी सडक निर्माणमा देखिएको लापरवाहीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समिति सभापति दिवानसिंह बिष्टले ठेकेदार कम्पनीमाथि कारबाही गर्न माग गरेका छन्।
नेता बिष्टले सोमबार काठमाडौंस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा भेट गर्दै कञ्चनपुर क्षेत्र नं. १ को समग्र विकासमा विशेष ध्यान दिन आग्रह गरे।
भेटका क्रममा उनले विशेषगरी हुलाकी सडक निर्माणमा भएको अत्यधिक ढिलाइ, गुणस्तरहीन कार्यप्रणाली र त्यसबाट स्थानीयले भोग्दै आएका समस्या उजागर गर्दै सभापति देउवाको ध्यानाकर्षण गराए।
“हुलाकी सडक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विकास आयोजना हो। समयमै काम सम्पन्न नहुनु, गुणस्तरमा खेलवाड हुनु आमजनतामाथिको धोखा हो,” बिष्टले भने।
उनको गुनासोप्रति प्रतिक्रिया दिँदै सभापति देउवाले स्थानीय विकासलाई कांग्रेसले सधैं प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने आश्वासन पनि दिए।
स्थानीयबासीहरू पटक–पटक सडक निर्माणमा भएको ढिलासुस्ती र लापरवाहीबारे आवाज उठाउँदै आएका छन्। तर, सरकारी बेवास्ता र ठोस पहलको अभावले गर्दा हालसम्म पनि सडक अधुरो अवस्थामा रहेको छ।
२०७३ साल फागुनमा सम्झौता भएको कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर लामो हुलाकी सडक ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, आठ वर्ष बितिसक्दा पनि सडक अझै कालोपत्रे हुन सकेको छैन।
निर्माण कम्पनीको बेवास्ता र कामप्रतिको लापरवाहीकै कारण ठेक्काको म्याद पटक–पटक थपिँदा पनि परियोजना अझै अधुरै रहेको छ।
नेता बिष्टले यस्तो गैरजिम्मेवार व्यवहारलाई अब सहन नसकिने बताउँदै सम्बन्धित कम्पनीविरुद्ध कडा कारबाही गर्न सरकारलाई जोडदार माग गरेका छन्।